
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणको प्रश्नबाट भाग्न खोजेका छन् । आइतवार काठमाडौंबाट विराटनगर विमानस्थलमा ओर्लिनेबित्तिकै लामिछानेलाई पत्रकारहरूले सहकारीबारे प्रश्न गरेका थिए । तर उनी अरुले गरेको प्रश्न नगर्न भन्दै तर्कन खोजेका हुन् ।
लामिछाने पत्रकारहरूले अरुले खडा गरिदिएको भन्दा पनि आफ्नै प्रश्न सोध्नुपर्ने भन्दै तर्केका थिए ।
'तपाईँहरूका आफ्नै प्रश्नहरू भइदिए पनि हुन्थ्यो ! कसैले खडा गरिदिएको प्रश्न महिनौँसम्म सोधिरहनु भन्दा आफ्नै प्रश्न भइदिए हुन्थ्यो,’ संक्षिप्त कुरा गर्दै उनले भने, ‘जसले जे–जे भन्छ त्यसको जवाफ दिँदै जाने हो भने आफ्नो केही काम नहुने रहेछ ।’
गृहमन्त्री लामिछाने आइतवार आयोजना हुने राजश्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन कोशी प्रदेशको राजधानी विराटनगर आएका हुन् ।
गोष्ठी झापा, मोरङ र सुनसरीका निकायका प्रमुख, राजश्व, भन्सार प्रमुखहरू सहभागी छन् । यसमा भन्सार विभाग, राजश्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय र प्रदेशका दुई डीआईजीसँग ब्रिफिङ लिने कार्यक्रम रहेको सुरक्षा निकायले बताएका छन् ।