
म्याग्दीको मङ्गला गाउँपालिका–५ हाँडेभिर बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्की पर्खाल निर्माण गरिएको छ ।
म्याग्दी नदी किनारमा रहेको हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधीन पाँच शय्या क्षमताको अस्पताल भवनलगायत भौतिक संरचना र पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक संरक्षणका लागि नदी नियन्त्रण आयोजनाअन्तर्गत पर्खाल निर्माण गरिएको हो ।
सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानमा चालू आर्थिक वर्षमा सञ्चालित हाँडेभिर संरक्षण आयोजनामार्फत पक्कि पर्खाल निर्माण गरिएको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिए ।
'मङ्गलाको सबैभन्दा ठूलो वडा अर्मनका बस्तीलाई जोड्ने सडक पुनःनिर्माण र बस्ती संरक्षणका लागि पछिल्लो पाँच वर्षयता क्रमागत आयोजनाको रूपमा म्याग्दी नदी नियन्त्रण आयोजना सञ्चालन गरेका छौं,' उनले भने, 'यसपालि निर्माण भएको म्याग्दी नदी किनारमा तीन सय मिटरभन्दा लामो पक्की पर्खाल बनाएका छौं ।'
निर्माण कम्पनीका सञ्चालक रिम कटुवालले हाडेभिर संरक्षण योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको बताए ।
आगामी असार १५ गतेसम्म ठेक्काको म्याद भए पनि लक्ष्यअघि नै निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको उनले बताए ।
हाडेभिर संरक्षणका लागि प्रदेश सरकारअन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय र भू तथा जलाधार संरक्षण कार्यालयले पनि ग्यावीयन पर्खालसमेत निर्माण गर्दै आएका छन् ।