
आईसीसी टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले ओमानविरुद्ध सानदार जीत निकालेको छ । ओमानले दिएको १५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर १ बलमा तीन विकेट मात्रै गुमाएर भेट्टायो ।
स्कटल्याण्डका लागि ब्रान्डन एमसीमुलिनले ३१ बलमा नटआउट ६१ रन बनाए । जर्ज मुन्सेले २० बलमा ४१ रन बनाए भने माइकल जोन्सले १६ रन जोड्दा कप्तान रिची बेरिंगटन १३ रनमा नटआउट रहे ।
स्कटल्याण्डविरुद्ध कमजोर बलिङ गरेको ओमानका लागि विलाल खान, मेहरान खान र अकिब इलियासले समान एक/एक विकेट हात पारे।
यसअघि शुरूमा ब्याटिङ गरेको ओमानका लागि प्रतिक आठवलेले अर्धशतक प्रहार गरेका थिए । ४० बलको सामना गरेका उनले ५४ रन बनाएका थिए ।
त्यस्तै आयन खानले ४१, अकिब इलियास १६, मेहरान खानले १३ रनको योगदान दिए ।
स्कटल्याण्डका सफायान सरिफले दुई विकेट लिए। मार्क वाट, ब्राड व्हील, क्रिस सोल, क्रिस ग्रीव्सले एक/एक विकेट लिएका थिए।
जारी विश्वकपमा ओमानले तीन खेलमा हार बेहोरेको छ । ओमान यसअघि नामिबिया र अस्ट्रेलियासँग पराजित भएको थियो।
जितसँगै स्कटल्याण्ड पाँच अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ ।
दुई खेल खेलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ भने नामिबिया र इंग्ल्याण्ड तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगितामा तीन खेल गुमाएको ओमान अन्तिमममा छ । ओमानको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ ।