२२ जेठ २०८३, शुक्रबार

नेपाली क्रिकेटलाई बदनाम गराउन क्यानकै केही सदस्य लागे : पारस खड्का

जेठ २८, २०८१
काठमाडौं
नेपाली क्रिकेटलाई बदनाम गराउन क्यानकै केही सदस्य लागे : पारस खड्का

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहेको आरोप लगाएका छन् । 

सोमबार बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै खड्काले उनीहरू संघका अध्यक्ष र सचिवलगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउन लागिरहेको आरोप लगाएका हुन् । 

'कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैबीच संघका अध्यक्ष, सचिवलगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद: हो,' उनले लेखेका छन् । 

खड्काले यसबारे कानूनी उपचार खोजिने चेतावनीसमेत दिएका छन् । 'मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउनेगरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्धतिबाट छिट्टै नै कानूनी उपचार समेत खोजिने छ,' उनले भनेका छन् । 

नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाईसमेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नहुन उनले आग्रह गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्