२३ जेठ २०८३, शनिबार

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

जेठ २८, २०८१
चितवन
गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उनले भने, 'काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न ।'

उनले पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम भएको बताए । गर्मी बढेको कारण पर्यटकको सङ्ख्यामा कमी आएको उनको अनुमान छ । 

अध्यक्ष भट्टले विगतमा कोरोना र आर्थिक मन्दीले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको बताए । उनले भने, 'भ्रमण वर्षलाई लक्षित गरेर यहाँ विभिन्न राष्ट्रिय स्तरका सभा, सेमिनार तथा कार्यक्रम भएका छन् । जसले गर्दा हामी व्यवसायीमा केही आशा पलाएको छ ।'​

जिल्ला भित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन् ।

रेस्टुराँ एन्ड बार एशोसिएशन सौराहाका अध्यक्ष ध्रुव गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको सङ्ख्यामा गिरावट आएको बताए ।

उनले भने, 'हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन् ।'

यो समयमा सौराहाका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उनले जानकारी दिए ।

उनले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवासहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताए । 

चितवनमा हात्ती तथा जीप सफारीको क्षेत्रमा काम गर्दै आएका पर्यटनकर्मी रमेश दवाडीले  वर्षायाममा पर्यटक स्वतः घट्ने बताए । 

नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमशः मोटरबोट बन्द हुने बेला भएको बताए ।

उनले भने, 'मनसुन शुरू हुन लागेको छ । अब बाढीको डर हुन्छ हामी निर्णय गरेर मोटरबोट बन्द गर्छौ ।'

उनले चितवनमा बाहिर हल्ला भए जत्तिको गर्मी नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्