१७ असार २०८३, बुधबार

बीवाईडीको आक्रामक उत्पादन रणनीति : एक सातामै ७० हजार युनिट बिक्री गरेर नयाँ रेकर्ड कायम

जेठ २९, २०८१
काठमाडौं
बीवाईडीको आक्रामक उत्पादन रणनीति : एक सातामै ७० हजार युनिट बिक्री गरेर नयाँ रेकर्ड कायम

एक सातामै करिब ७० हजार युनिट बिक्री गरेर बीवाईडी (बिल्ड योर ड्रिम्स)ले नयाँ रेकर्ड कायम गरेको छ ।

चिनियाँ विद्युतीय सवारी (ईभी) कम्पनीले घरेलु बजारमै यस्तो रेकर्ड कायम गरेको हो । साप्ताहिक वृद्धि ३० प्रतिशत भन्दा बढी रहेको कम्पनीले दाबी गरेको छ ।

पछिल्लो समय बीवाईडी (विल्ड योर ड्रीम्स) कम्पनीले विद्युतीय सवारी साधन बजारमा उल्लेखनीय प्रगति गरेको छ ।

 घरेलु बजारमा मात्र नभएर बीवाईडीले विश्वभर आफ्नो उपस्थिति बढाउँदै गइरहेको छ । हालसालैका विभिन्न तथ्यांकअनुसार बीवाईडीले मे २०२४ मा नयाँ साप्ताहिक बिक्री रेकर्ड तोडेको हो ।

एक सातामा ६९ हजार ५०० युनिट बीवाईडीको ईभी बिक्री भएको छ ।

यसले घरेलु ईभी बजारमा कम्पनीले थप प्रभुत्व जमाउँदै लगेको पुष्टि हुन्छ । मे महिनाको मध्यसम्ममा १ लाख १ हजार ३०० युनिट बिक्री भएको कम्पनीले जनाएको छ ।

जुन २०२४ मा बीवाईडीले अर्को उपलब्धि हासिल गर्दै २ लाख ५० हजार भन्दा बढी सवारी साधन बिक्री गरेको छ । यो मे महिनाको तुलनामा ५ दशमलव ३ प्रतिशतको वृद्धि हो ।

मूल्यमा कडा प्रतिस्पर्धा हुँदाहुँदै यस्तो उपलब्धी हासिल गर्नु निकै ठूलो सफलता रहेको बीवाईडीको भनाइ छ । बीवाईडीको बिक्री २०२३ को पहिलो आधा वर्षमा १२ लाख ६ हजार युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा लगभग दोब्बर हो ।

यद्यपि प्रभावकारी रूपमा बजारमा हस्तक्षेप हुँदाहुँदै पनि ईभी बजारमा बीवाईडीको मुनाफा प्रभावित बनेको छ । मूल्यमा कडा प्रतिस्पर्धा भएकाले मुनाफा कम भएको कम्पनीले दाबी गरेको छ ।

सन् २०२४ को पहिलो त्रैमासिकमा कम्पनीको मुनाफा लगभग आधा घटेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । यसले टेस्ला जस्ता अन्य निर्माताहरूसँग तीव्र प्रतिस्पर्धा गर्नुपरेको छ ।

तथापि बीवाईडीको नयाँ अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रणनीति र निरन्तर नयाँ मोडेल उत्पादन गर्ने कार्यले यसको बजार स्थिति बलियो बनाएको छ ।​

बीवाईडीको नयाँ मोडेलहरू र प्रतिस्पर्धी मूल्य निर्धारणले यसको सफलतामा उल्लेखनीय योगदान पुर्‍याएको छ । उदाहरणका लागि सी लायन-७ लाई  जसले टेस्लाको मोडेल वाईसँग प्रतिस्पर्धा गर्न सक्ने गरी डिजाइन गरिएको छ ।

यो टेस्लाको मूल्यलाई प्रतिस्थापन गर्दै उपभोक्ताहरूका लागि आकर्षक विकल्प बन्न सफल भएको हो । साथै बीवाईडी ईभी निर्यातमा केन्द्रित छ, जुन प्रयास अत्यधिक सफल भएको छ ।

अप्रिल २०२४ मा ४१ हजार ११ युनिट बीवाईडीका ईभी निर्यात गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा १ सय ७६ प्रतिशतको वृद्धि हो ।

कम्पनीले २०२४ को अन्तसम्म ४० लाख युनिट बिक्री गर्ने लक्ष्य राखेको छ । जसअन्तर्गत धेरै नयाँ मोडेलहरू अन्तर्राष्ट्रिय बजारहरूमा पठाउने रणनीति कम्पनीले लिएको छ । यस लक्ष्यलाई साकार पार्न कम्पनीले आफ्नो डिलरलाई ३५ बाट ७० भन्दा बढी स्थान बिस्तार गर्ने योजना बनाएको छ ।

८ हजार डलरसम्मको मूल्य कटौतीका कारण बीवाईडीको इलेक्ट्रिक एसयूभी एटटो ३ को बिक्रीमा पनि कमी आएको छैन । कम्पनीले मे २०२४ को पहिलो चार महिनामा ९ लाख ३९ हजार ५०८ सवारी साधन बिक्री गरेको छ, यो अघिल्लो वर्षको तुलनामा यो २३ प्रतिशतको वृद्धि हो ।

विश्लेषकका अनुसार बीवाईडीको बिक्रीमा देखिएको वृद्धिले चिनियाँ बजारमा पेट्रोल कारहरूको संख्या घट्दै गएको पुष्टि हुन्छ ।​​

बीवाईडीले आफ्नो मुनाफा सुधार गर्न र प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न विभिन्न रणनीतिक उपायहरू अवलम्बन गरेको छ ।

विशेष गरी कम्पनीले आफ्नो उत्पादन क्षमतालाई वृद्धि गरिरहेको छ र नवीन प्रविधिहरूको प्रयोग गरिरहेको छ । जसमा डीएम-आई  हाइब्रिड प्रणाली र ब्लेड ब्याट्री प्रविधि समावेश छन् । यसले कम्पनीलाई नयाँ विद्युतीय सवारी साधनहरूको उत्पादन र बिक्रीमा सुधार गर्न मद्दत पुर्‍याइरहेको छ ।

कम्पनीले विश्वभर आफ्नो उत्पादन क्षमतालाई वृद्धि गर्दै विभिन्न बजारमा प्रवेश गरिरहेको छ । बीवाईडीले यूरोप, उत्तर अमेरिका, र एशिया प्रशान्त क्षेत्रमा आफ्ना उत्पादनहरू बेचिरहेको छ ।​​

बीवाईडीको दाबीअनुसार कम्पनी शून्य कार्बन उत्सर्जन हुने पारिस्थितिकी तन्त्र निर्माणमा केन्द्रित छ । यसमा सस्तो सौर्य ऊर्जा उत्पादन, विश्वसनीय ऊर्जा भण्डारण, र अत्याधुनिक विद्युतीय यातायात समावेश छन् । यसले बीवाईडीलाई ऊर्जा र यातायात क्षेत्रहरूको उद्योगमा नेतृत्वदायी रूपमा स्थापित गरेको छ ।

कमेन्ट गर्नुहोस्