
फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले पहिलो गोल गरेको छ ।
अघिल्लो ५ खेलमा गोल र जीतविहीन नेपालले साउदी अरबको दम्मामस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति यमनविरुद्ध गोल गर्न सफल भएको हो ।
नेपालले खेलको २३औं मिनेटमा गोल गरेको हो । सञ्जीव विष्टले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए ।
नेपालले यसअघि पहिलो गोल खाएको थियो । नवौं मिनेटमा पेनाल्टीमार्फत् नेपालले गोल खान पुगेको थियो ।
बक्सभित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।
विष्टले नेपालका लागि पहिलो गोल गर्दै बराबरीमा ल्याएका थिए । तर, खेल भने बराबरीमा रोकियो । दुई देशबीचको खेल २-२ गोलको बराबरी भएको हो । अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा भने नेपालले यमनसँग बराबरी खेल्नपर्यो ।
नेपालका लागि विष्टपछि जिलेस्पी जंग कार्कीले १ गोल गरे । दुवै खेलाडीका लागि अन्तराष्ट्रिय करियरको पहिलो गोल हो ।
६६औं मिनेटमा नेपालले खेलमा अग्रता लिएको थियो । छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो ।
तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल-दाहीको गोलमार्फत् बराबरी गर्दै एक अंक लिन सफल भएको हो ।
नेपालले समूहमा ६ खेलमा १ अंकसहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ । नेपाल रहेको समूह ‘एच’ मा यूएईले १६ अंकसहित पहिलो हुँदै र बहराइन ११ अंकसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
यस्तै ५ अंकसहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

खेलपछि किरणलाई एक सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो। अखिल नेपाल फुटबल संघ-एन्फाका महासचिव किरण राईले कदर पत्र र कोट पनि प्रदान गरेका थिए । किरण सन् २००८ देखि नेपालको सिनियर राष्ट्रिय टोलीमा छन् । उनले मंगलबार सयौं खेल खेलेका हुन् ।