
नेपाल क्रिकेट संघ क्यान (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द अफिसियल डाक्टरको कोटामा अमेरिका उडेपछि उतै बस्ने नेपाली मूलका एक डाक्टरलाई भाडामा राष्ट्रिय क्रिकेट टीममा समावेश गरेको पाइएको छ ।
क्यानका सचिव पारस खड्काले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई लेखेको जवाफी पत्रमा पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अवधिभरका लागि स्थानीय (नेपाली मूलका अमेरिकी) डाक्टर होमनाथ पन्तलाई टीममा समावेश गरिएको उल्लेख छ ।
टीम लिडर अर्कै व्यक्ति भएको अवस्थामा क्यान अध्यक्ष चन्द विगतका परम्पराविपरीत आईसीसीले दिएको २५ सदस्यीय कोटाभित्रै रहेर अमेरिका उडेका थिए । डाक्टरको कोटामा अमेरिका उडेको भन्दै चर्को आलोचना भएपछि उतै बस्ने एक डाक्टरलाई क्यानकै तर्फबाट भुक्तानी गर्ने गरि टीममा समावेश गरिएको हो ।
'आईसीसीबाट प्राप्त हुने २५ सदस्यीय सुविधाबाहेक सम्बन्धित संघहरूले आफ्नै स्रोतबाट खर्च व्यहोर्ने गरि थप खेलाडी तथा अफिसियलहरू राष्ट्रिय टोलीमा समावेश गर्न पाउने प्रावधानअनुसार संघबाट खर्च व्यहोर्ने गरि आईसीसीको स्वीकृतिमा टोलीमा समावेश गरिएको र विश्वकप क्रिकेट प्रतियोगिता अवधिभरका लागि १ जना स्थानीय अमेरिकन डाक्टर होमनाथ पन्तलाई समेत राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको व्यहोरा अनुरोध छ,' पारसले यही जेठ २१ गते राखेपलाई लेखेको पत्रमा भनिएको छ ।
विश्वकपका लागि आईसीसीले खर्च व्यहोर्ने गरि हरेक टोलीलाई २५ जनाको कोटा उपलब्ध गराएको हुन्छ । २५ जनाभित्र डाक्टर, मिडिया म्यानेजर लगायतको सहभागिता अनिवार्य हुन्छ । बाँकी १५ जना खेलाडी, कोचिङ स्टाफ र टीम म्यानेजर लगायत हुन्छन् ।
'२५ जनाभित्र डाक्टर अनिवार्य छ । फरक हावापानी, धेरै ट्राभल गर्नुपर्ने अवस्था आदिका कारण पनि आईसीसीले डाक्टर अनिवार्य राख्नुपर्छ भनेको हो,' क्यान स्रोतले लोकान्तरसँग भन्यो, 'अध्यक्ष आफैं त्यो कोटामा अमेरिका उड्नुभयो । त्यसपछि अमेरिकामै डाक्टर भाडामा लिइयो । साथै, मिडिया म्यानेजर समेत तोकिएको छैन, जुन अनिवार्य हो ।'
यस्तै, क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का समेत विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको खेल अवलोकनका लागि भनेर अमेरिका गएको पारसले पत्रमा उल्लेख गरेका छन् । खड्का आफ्नै खर्चमा अमेरिका गएको उनको प्रस्टीकरण छ ।
कोषाध्यक्षको हकमा अमेरिका गएको 'बुझिन आएको' भनेर पारसले गैरजिम्मेवार जवाफ दिएका छन् । क्यानको एक कार्यकारी पदाधिकारी अमेरिका उड्नुअघि जिम्मेवारी हस्तान्तरण तथा बोर्डबाट स्वीकृतिको प्रक्रिया हुन्छ । तर, पारसले 'बुझिन आएको' भन्ने भाषा प्रयोग गरेर राखेपलाई गुमराहमा राख्ने प्रयास गरेका छन् ।
२५ जनाको कोटामा को-को गए अमेरिका?

नगरपालिकाका मेयरलाई पनि उडाइयो
काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत पनि क्रिकेट हेर्ने बहानामा अमेरिका पुगेका छन् । उनले आफूलाई क्रिकेट प्रतियोगिता हेर्न भनेर क्यानले नै पत्र लेखेको भन्दै नगरपालिकामा बिदा स्वीकृत गराएका थिए ।
यस्तै, नागार्जुन खेलकुद विकास समितिका संयोजक राजेन्द्र बुढाथोकीलाई समेत क्यानका सचिव पारस खड्काले खेल हेरिदिन भनेर निम्तो गरेको पत्र सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भएको थियो । पछि उक्त पत्र डिलिट भयो ।
सार्वजनिक भएको पत्रमा चलानी नम्बर उल्लेख नभएको पाइएपछि पारसले आफूले त्यस्तो कुनै पत्र नलेखेको दाबी गरेका थिए । तर, पारसले राखेपलाई लेखेको जवाफमा भने नागार्जुनका मेयर बस्नेत अमेरिका गएको विषय उल्लेख छ ।
'नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत समेत आफ्नै खर्चमा नेपालको खेल अवलोकनका लागि अमेरिका भ्रमणमा जानुभएको बुझिन आएको व्यहोरा उल्लेख छ,' पारसले पत्रमा लेखेका छन् ।
जबकि क्यानको कुनै पत्र वा सिफारिसविना उनी अमेरिका उडेको भए यो विषय यहाँ उल्लेख गर्नुपर्ने नै देखिँदैन । घुमाउरो भाषा लेखेर पारसले बस्नेतलाई पत्र लेखेको स्वीकारेको बुझ्न सकिन्छ ।
नगरप्रमुख बस्नेतले भ्रमणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति समेत लिएका छैनन् । अफिसियल भिजिटमा जाने हो भने मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाटै स्वीकृत हुनुपर्ने हुन्छ ।
साथै, उनले अमेरिकाको भिसा प्राप्त भएको खण्डमा संघका पदाधिकारी तथा सदस्यहरू नेपालको खेल अवलोकनका लागि आफ्नै खर्चमा अमेरिका भ्रमणमा जाने कार्यक्रम रहेको पनि पत्रमा उल्लेख गरेका छन् ।

यस विषयमा प्रतिक्रिया लिन पारसलाई पटक-पटक फोन र एसएमएस समेत गर्दा पनि कुराकानी हुन सकेन ।
संसद्मा पनि कुरा उठ्यो,खेलकुद मन्त्रालय र राखेप छानबिनमा
प्रतिनिधिसभाको बुधवारको बैठकमा नेकपा एमालेका सांसद भीम आचार्यले विश्वकप क्रिकेटको बहानामा प्रधानमन्त्री कार्यालयबाटै पत्र लेखाएर अमेरिका उडाउने तथा नेपालको शिर निहुराउने काम भएको भन्दै क्यानको नेतृत्व तथा संलग्न पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।
साथै, खेलकुद मन्त्रालयले पनि यस विषयलाई गम्भीर रूपमा लिएर आन्तरिक छानबिन अगाडि बढाएको मन्त्रालय स्रोतको दाबी छ । अर्कातिर राखेपले क्यानलाई पत्र नै लेखेर जानकारी माग गरिसकेको छ ।