१२ असार २०८३, शुक्रबार

भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समयसीमा केही पर धकेलौं– विद्या भट्टराई

जेठ ३१, २०८१
काठमाडौं
भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समयसीमा केही पर धकेलौं– विद्या भट्टराई

नेकपा एमालेकी सांसद विद्या भट्टराईले सामाजिक सुरक्षा भत्ता पाउनका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने समयसीमालाई केही पर सार्न आग्रह गरेकी छिन् ।

साउन महिनादेखि परिचयपत्र नम्बर अनिवार्य गरिएका कारण देशभर जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेका भीड लागेको भन्दै उनले केही समयलाई पछाडि धकेल्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद भट्टराईले परिचयपत्र निर्माणका लागि वडा तहमा घुम्ती शिविर पठाएर फाराम संकलनको व्यवस्था मिलाउन पनि माग गरिन् ।

‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने सूचना गरेपछि जिल्ला प्रशासन कार्यालयमा ज्येष्ठ नागरिक र अशक्तको भीड देखिएको छ । दुर्गम गाउँदेखि घण्टौं लगाएर अनि अक्सिजन सिलिन्डर बोकेर आउँदा पनि पालो नपाएर फर्किनुपरेको गुनासो छ,’ भट्टराईले भनिन्, ‘यसको समाधानका लागि परिचयपत्र अनिवार्य गर्न तोकिएको साउन महिनालाई केही पर सारेर आवेदनका लागि वडास्तरमा घुम्ती शिविर सञ्चालन गर्न सकिन्छ । यसका लागि गृहमन्त्रीलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराउँछु ।’

salt training

कमेन्ट गर्नुहोस्