०५ साउन २०८३, मंगलबार

ताप्लेजुङमा वर्षासँगै बाढीः विभिन्न ठाउँका पुल बगायो, सडक अवरुद्ध

जेठ ३१, २०८१
काठमाडौं
ताप्लेजुङमा वर्षासँगै बाढीः विभिन्न ठाउँका पुल बगायो, सडक अवरुद्ध

ताप्लेजुङ–ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ।

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधवार रातभर वर्षा भएको थियो । 

बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सिसावा खोलामा बिहीवार बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन  सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ताप्लेजुङमा अधिकांश क्षेत्रमा बुधबार रातभर वर्षा भएको थियो । वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । केही ठाउँमा पहिराले अलैँचीसहितका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । –रासस–

salt training

कमेन्ट गर्नुहोस्