
नेपाल-भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष राजीव झाले दुई देशबीचको सीमामा देखिएको बेथितिको राजनीतिकरुपमा समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल भारत खुला सीमा संवाद समूह सिराहाको आयोजनामा बिहीबार 'नेपाल-भारत खुला सीमा सुमधुर सम्बन्धको आधारशिला' विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष झाले यस्तो बताएका हुन् ।
नेपाल-भारतको खुला सीमाकै कारण दुई देशको सम्बन्ध थप प्रगाढ भएको बताउँदै उनले दुई देशको खुला सीमाले सदियौँदेखि चल्दै आएको बेटी रोटीको सम्बन्धलाई पनि मजबुत बनाएको बताए । अध्यक्ष झाले सीमामा देखिने गरेको समस्यालाई निराकरण गर्नका लागि दुवै देशका प्रमुखले पहल गर्नुपर्ने बताए । यसका लागि दुवै देशका प्रमुखले जनभावनाको कदर गर्नुपर्ने पनि उनको धारणा थियो ।
कार्यक्रममा समाजसेवी डा राम प्रताप यादवले खुला सीमाले नागरिकस्तरमा सम्बन्ध विस्तारका साथै दुुवै देशको मित्रतामा पनि गाढापन आएको बताए । कोरानाकालदेखि सीमामा प्रहरीहरूले नागरिकहरूसँग गर्दै आएको दुर्व्यवहारले मित्रतामा खल्लोपन ल्याएको र यसलाई सुधार गर्नका लागि दुवै देशका सुरक्षा निकाय बसेर समस्या समाधान गर्नुपर्ने धारणा समेत उनले राखेका थिए ।

कार्यक्रममा प्रोफेसर चन्देश्वर प्रसाद यादवले पौराणीक कालदेखि नेपाल-भारतको सम्बन्धलाई कायम रहेको र वर्तमानमा पनि बेटी रोटीको नाता कायम रहेको बताए । सोही कारण नेपाल र भारतको नातालाई अझै मजबुत बनाउन सानातिना समस्या भए समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टी मालेका नेता भुसन कुमारले दुई देशबीचको रोटी बेटीको नातालाई कायम राख्नका लागि नागरिकस्तरमा पनि पहलको आवश्यकता रहेको बताए ।
उनले भने,सीमामा दुवै तर्फ हुँदै आएको शोषणलाई रोक्न प्रशासनले मात्र चाहेर हुँदैन,यसको लागि आम मानिसले पनि पहल गर्नुपर्छ ।' यसको लागि अभियान नै सञ्चालन गर्नुपर्ने उनले बताए ।
नेपाल भारत खुला सीमा संवाद समूह सिरहाका अध्यक्ष परितोस यादवको अध्यक्षतामा भएको कार्यक्रममा जयनगर चेम्बर अफ कमर्सका प्रतिनिधि अनिल कुमार बरौलिया,भारतका वरिष्ठ पत्रकार ललित कुमार झा,समूहका प्रदेश सहअध्यक्ष दीपक यादव लगायतले धारणा राखेका थिए ।