
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै भएको दुर्घटनामा घाइते भएका कार चालकको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ४०६० नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार शुक्रबार बिहान एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना परी १३ जना घाइते भएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर छ ।
चार जना उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।
कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।