वैदिक सनातनधर्मले संस्कारलाई विशेष महत्त्व दिएको छ । संस्कार भनेका पहिचान त यसै पनि हुँदै हुन् साथसाथै जीवन संस्कृत गर्ने माध्यम पनि हुन् । वेदव्यासजीका अनुसार, यस्ता संस्कारहरू १६ वटा छन् जसमा गर्भाधान संस्कारदेखि मृत्युसंस्कारसम्म पर्छन् ।
यसो त महर्षि गौतमले ४८ संस्कारको पनि कुरा गरेका छन् र महर्षि अङ्गिराले २५ संस्कारको कुरा पनि गरेका छन् । तर विशेष महत्त्वका भने १६ वटा संस्कार नै मानिएका छन् । तिनमा पनि हाल प्रचलनमा रहेका संस्कार भनेका न्वारन, पास्नी, विवाह, व्रतबन्ध र अन्त्येष्टि संस्कार मात्र हुन् । अन्य संस्कार केवल नाममा सीमित हुँदै गएका छन् । समयसापेक्ष हुन सकेनन् वा बनाउन सकिएन भने व्यवहारमा रहेका संस्कारहरूको पनि अवस्था त्यस्तै नहोला भन्न सकिन्न । त्यसैले यसलाई बचाउने हो भने तिनका पद्धतिगत प्रक्रियाहरूमा सुधारतर्फ ध्यान दिनैपर्ने देखिन्छ ।
हुन त समाजका एकथरी वर्ग सुधारको कुरा सुन्नै चाहँदैनन् । संस्कारको अर्थ आफैं संस्कृत वा सुधार हो । त्यसैले तिनमा पुनः सुधारको कुुरा गर्नुको कुनै अर्थ छैन भन्ने उनीहरूको मान्यता रहँदै आएको छ । केही समयअघि पंक्तिकारले अन्त्येष्टि संस्कारलाई पाँच दिनमा सक्ने परम्परा बसाई समयसापेक्ष बनाऔं भन्दा चौतर्फी विरोध भएको थियो ।
संस्कारलाई समयसापेक्ष बनाउन सक्दा सर्वग्राह्य पनि हुन सक्छ र सार्वकालिक पनि बनाउन सकिन्छ भन्ने पंक्तिकारको आशय थियो तर उल्टै कतिले धर्मसंस्कृति भँडुवाको आरोप लगाए भने कति त डलरवादी मतियारको संज्ञा दिन पनि पछि परेनन् । अरू त अरू, राष्ट्रिय धर्मसभा नेपाल जस्तो बौद्धिक संस्थाले समेत विषयवस्तुलाई बुझ्ने प्रयास नै नगरी हचुवाको भरमा सुधारका विचार र आवाजलाई अस्वीकार गर्न पुगेको थियो । झन् हाल आएर त्यस्ता विचारको मात्र नभई त्यसका पछि लाग्नेलाई समेत बहिष्कार गर्ने निर्णय गरेको छ ।
उसले हालै सम्पन्न पण्डित सम्मेलनमार्फत बहिष्कार सम्बन्धी विषयलाई पहिलो बुँदामै उल्लेख गरेर यसप्रतिको आफ्नो धारणा प्रस्ट पारको छ भने अन्य केही विषयहरू पनि तिनकै पक्षपोषक देखिएका छन् । हुन त सम्मेलनले पारित गरेका केही बुँदा निकै सान्दर्भिक पनि देखिएका छन् । देशभरिका मठमन्दिरको तथ्याङ्क सङ्कलन गर्ने, गोरक्षामा विशेष ध्यान दिने, विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गराउने प्रयास गर्ने, धर्मान्तरणको समस्या रोक्न विशेष सतर्कता अपनाउने आदिलाई यसैभित्र लिन सकिन्छ । तर संस्कार सुधारको आवाजलाई भने सुन्न पनि चाहेको छैन ।
सुधारका पक्षमा संस्थागत पहल नै शुरु भइसकेको र सुधार हुनुपर्छ भन्नेहरूको जमात निरन्तर बढ्दै गएको परिप्रेक्ष्यमा कसले कसलाई बहिष्कार गर्ने हो वा गर्छ त्यो त समयले नै बताउने कुरा भएकाले अहिले नै यसै भन्न सकिन्न । एकताका हलो क्रान्तिमा लागेकाहरूलाई बहिष्कार गर्नुपर्छ भन्ने गरिएको थियो भने हाल बहिष्कार गर्ने वा गर्नुपर्छ भन्ने विचार आफैं बहिष्कृत भइसकेको छ । यस्तो अवस्था अहिलेको बहिष्कारवादी विचारको नियति पनि एकदिन त्यस्तै हुनेमा त्यति शङ्का लिरहनुपर्ला जस्तो लाग्दैन । तथापि चिन्ता त के हो भने यस्ता विचारहरू आफै संस्कारका सङ्कट बन्न नपुगून् । लेखक रिजाल हाम्रा अन्त्येष्टि संस्कार मात्र होइन, सबै किसिमका संस्कारमा सुधार अत्यावश्यक भइसकेको छ । खोक्रो आदर्श प्रस्तुत गरी संस्कार र संस्कृतिप्रति बाँदरभक्ति देखाउँदै जाने हो भने त केही छैन होइन साँच्चै संंरक्षण गर्ने हो भने तिनलाई सम्पन्न गर्ने गराउने सबैखाले पद्धतिहरूलाई सम्पादन गरी समयसापेक्ष बनाउनेतर्फ ध्यान दिनै पर्छ ।
उदाहरणको रूपमा विवाह र व्रतबन्ध आदि पद्धतिहरूलाई नै लिन सकिन्छ । हालका पद्धति अनुसार विवाह र व्रतबन्ध आदि संस्कार पूरा गर्न कम्तीमा पाँच घन्टाको समय लाग्छ तर व्यवहारको कुरा गर्ने भने प्रायः एक दुर्ई घन्टामै सम्पन्न गर्नुपर्ने अवस्था छ, गर्दैै आइएको छ । जब एक, दुई घन्टामै सक्नुपर्ने बाध्यता छ वा सक्दै आइएको छ भने त्यस्तै किसिमको पद्धति बनाई किन व्यवस्थित नगर्ने ? विधि र व्यवहारमा तालमेल मिलाउनकै लागि पनि यतातिर सोच्नुपर्ने बेला भइसकेको छैन र ?
त्यसैगरी न्वारन, पास्नी आदि अन्य संस्कारको अवस्था पनि त्यस्तै छ । हालको सामाजिक परिस्थिति अनुसार कतिपय अवस्थामा युरोप र अमेरिकातिर जन्मेका बच्चाको न्वारन, पास्नी नेपालमा गर्नुपर्ने अवस्था आउन सक्छ । साँच्चै त्यस्तो अवस्था आयो भने वा आउँदा के गर्ने ? त्यस्तै किसिमको पद्धति बनाएर संस्कार धान्दै जाने जाने बाटो खोजिदिने कि छाड्दै जान दिने ? केही सुधार वा सम्पादन गरेर भए पनि संस्कार धान्दै जानुपर्छ भन्नु राम्रो होला कि व्यवहार जे सुकै होस् विधि र विधानमा अर्धविराम र अल्पविराम पनि छुन पाइँदैन भन्नु राम्रो होला ? यसतर्फ पनि समयमै ध्यान दिनु समीचीन हुनेछ ।
यसबाहेक समाजले दशै र तिहार, तीज जस्ता पर्व पनि लामो र झन्झटिलो बन्दै गएको अनुभूत गर्न थालेको छ । एक महिना अघिदेखि दरखाने प्रचलनले न संस्कृति धानिन्छ, न सही पहिचान नै दिन सकिन्छ । त्यसैले यस्ताखाले देखासिकी र अस्वस्थ प्रतिस्पर्धालाई त यसै पनि बन्देज लगाउनैपर्छ, साथसाथै दशैं र तिहारजस्ता लामा र झन्झटिला पर्वलाई पनि तीन दिनमा झारेर समयसापेक्ष बनाउँदा राम्रो हुनेछ ।
त्यस्तै तिहारमा पटका पड्काउने, होलीको नाममा हिलो छ्यापेर दिक्क बनाउने र शिवरात्रि पर्व मनाउने नाममा सरकारले पशुपतिमा नाङ्गा बाबा नचाएर राज्यको ढुकुटी दुरुपयोग गर्ने र नानीहरूले बिहानैदेखि बाटो छेकेर हैरान पार्ने चलन पनि सदाका लागि अन्त्य हुनुपर्छ । होइन भने संस्कार र संस्कृति बचाउने नाममा हामी उसैको समाप्तितर्फ उन्मुख भइरहेका हुनेछौं ।