०६ साउन २०८३, बुधबार

नयाँ दललाई कांग्रेस सहमहामन्त्रीको चुनौती- १० वर्ष पार्टी चलाएर देखाउनुस्

असार ३, २०८१
बुटवल
नयाँ दललाई कांग्रेस सहमहामन्त्रीको चुनौती- १० वर्ष पार्टी चलाएर देखाउनुस्

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर राठौरले मैं हुँ भन्ने र नयाँ पार्टीलाई १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका छन् ।

अहिलेको मैं हुँ भन्ने, नयाँ पार्टी, जातीय र धार्मिक पार्टीलाई उनले १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका हुन् ।

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रूपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाटमा उनले भने- ‘७० वर्ष यो पार्टी (नेपाली कांग्रेस) चलाउनु, यहाँसम्म पुर्‍याउनु कति गर्नुपर्‍यो होला ? समीक्षा गर्नुस् । राणा, पञ्चायत र राजा फाल्यौं । कम्युनिस्टहरूलाई राजनीतिक र लोकतान्त्रिक पद्धतिको मूल प्रवाहमा ल्याउन कांग्रेसलाई कति ग्राहो भयो भन्ने कुरा अहिलेको नयाँ पुस्ताले बुझ्न जरुरी छ, पुरानाले बुझेका छन् ।’

प्रतिनिधि सभा सदस्यसमेत रहेका राठौरले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको र कांग्रेसका सदस्यहरूले पार्टीमा आबद्ध हुने कुराप्रति गर्व गर्नुपर्ने बताए ।

उनले कांग्रेसले ल्याएको खुला अर्थ नीतिका कारण देश यहाँसम्म आइपुगेको दावी गरे । ‘कम्युनिस्टले गर्दा देशमा निराशा बढेको छ । कांग्रेसले गर्दा होइन । कांग्रेस जनताप्रति अझ जिम्मेवार र उत्तरदायी बन्नुपर्छ,’ उनले भने ।

सहमहामन्त्री राठौरले कांग्रेसले बाहेक यो देशमा कसैले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । मुलुकमा कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र यो सानो कुरा नभएको बताए ।

उनले विगतमा राजालाई सँगै लिएर हिँडाउन खोजिएको भए पनि राजा आफूहरूसँग जान नचाहेकोले राजतन्त्रको अन्त्य भएको बताए ।

उनले देशमा राजा फर्किन्छ भन्ने भ्रममा नरहन कांग्रेसका नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने- ‘अब मुलुकमा राजा फर्केर आउनेवाला छैनन् ।’ कांग्रेसमा एकता ल्याउने हो भने वडादेखि केन्द्रसम्म निर्वाचन नगरी सर्वसम्मत रुपमा अघि बढ्नुपर्ने उनको तर्क छ । उनले भने, ‘पार्टीलाई बलियो बनाउने हो भने वडा सभापति काम गर्ने मान्छेलाई बनाउनुपर्छ । वडा सभापति गतिशील भए पार्टी बन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्