
इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको उनका वकिलले मङ्गलबार बताएका छन् ।
इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ ।
“मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको थियो”, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा भने। उनले ‘यो सजाय जारी गर्नुको कारण’ मा संसदीय निर्वाचनको बहिष्कार गर्ने आह्वान, स्विडिश र नर्वेली सांसदहरूलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणीहरू’ बताए ।
अधिकार समूहहरूले पत्रकार तथा छात्रा गालिबफलाई मेट्रो स्टेसनमा अघिल्लो गिरफ्तारीका क्रममा सुरक्षा बलमाथि उनलाई हतकडी लगाएको र यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि हिरासतमा लिइएको बताएका छन् । गालिबफलाई रिहा गरिएको छ ।