
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोली लागेर मृत भेटिएका प्रहरी जवान अजित गोलेले एक युवतीका कारण आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको कपनस्थित केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भई संघीय संसद् सुरक्षा वेशमा कार्यरत गोलेको एक युवतीसँग पाँच महिनाअघि इन्गेजमेन्ट भएको थियो ।
पारिवारिक सहमतिमै विवाह गर्ने योजनाअनुसार युवतीसँग इन्गेजमेन्ट गरेका गोलेले ती युवतीलाई दुबईमा काम गर्न पठाएका थिए ।
डेढ लाख बढी खर्च गरेर युवतीलाई विदेश पठाएपछि ती युवती गोलेसँग सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि तनाब रहेका उनले आत्महत्या गरेको प्रहरी स्रोतको दाबी छ । ‘पैसा खर्च गरेर युवतीलाई दुबई पठायो, लामो समय युवती सम्पर्कमा नआएपछि तनाब भएर गोलेले आत्महत्या रोजेको देखिन्छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले पनि गोलेले पारिवारिक समस्याकै कारण आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । ‘केही कुरा आएका छन्, हामी अनुसन्धान गर्दैछौं,' उनले भने ।
संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान गोले बुधबार बिहान ८ बजे मृत भेटिएका थिए । गोले संसद् भवनको बाँयापट्टि रहेको शौचालयमा मृत भेटिएका हुन् । उनले आफैंले बोकेको राईफलले निधारमा फायर गरेको देखिएको एसपी अधिकारीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीको भनाइ छ ।