बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले कानुन कार्यान्वयनका लागि स्थानीय तहसँग थप समन्वय र सहकार्य बढाउन जरुरी रहेको बताएका छन्।
बागमती प्रदेशसभा सचिवालयले आज यहाँ आयोजना गरेको ‘बागमती प्रदेशको कानुन कार्यान्वयनको अवस्था र चुनौती’ सम्बन्धमा स्थानीय तहसँग छलफल तथा अन्तक्र्रियामा उनले कानुन निर्माणपछि जनताका समस्या सामाधान गर्न सकियो कि सकिएन भन्ने बुझ्न स्थानीय तहसँग छलफल गर्न आवश्यक रहेको बताए । उनले भने, “ जनताका समस्या समाधानका लागि सबै तह एक भएर लाग्नुपर्ने आवश्यकता छ, त्यसका लागि प्रत्यक्षरूपमा जोडिएका स्थानीय तहसँग छलफल र बहस गरेर सेवा प्रवाहलाई थप चुस्त बनाउनुपर्छ । यसमा प्रदेशसभाले पनि योजना बनाइरहेको छ।”
ऐन, कानुन निर्माण गर्नुपूर्व गम्भीर बहस र बनिसकेपछि कार्यान्वयन र प्रभावकारिताका विषयमा समीक्षा हुनुपर्नेमा उनले जोड दिए । “सरोकारवाला, विज्ञहरुसँगको छलफलबाट मात्रै निचोडमा जान सकिन्छ । ऐनहरू बनिसकेपछि जानकारी छैन भन्न मिल्दैन । त्यसैले हरेक चरणमा छलफल र बहस हुन जरुरी छ”, उनले भने ।
कार्यक्रममा उपसभामुख अप्सरा चापागाईले तीनै तहले बनाएका कतिपय कानुनहरू एकापसमा बाँझिएकाले अधिकार पाउने प्रक्रियामा झन्झट उत्पन्न भइरहेको बताइन् ।