
विद्युत् भार कटौती (लोडसेडिङ)का कारण सुर्खेतमा सञ्चालित छ पानी उद्योग बन्द हुने अवस्थामा पुगेका बताएका छन् ।
विगत दुई महिनादेखि ‘लो भोल्टेज’ को समस्या भोग्नुपरेको र समाधानको प्रयास नभए उद्योग बन्द हुने अवस्था आउने स्थानीय उद्योगीको गुनासो छ । दैनिक १२ हजार लिटर पानी उत्पादन गर्दै आएको बाङ्गेसिमलस्तित एक्वान्स पानी उद्योगले लो भोल्टेजकै कारण प्रशोधन बन्द गरेको छ ।
पानी उत्पादन बन्द हुँदा अहिले बाँकेको नेपालगञ्जबाट किनेर ग्राहकलाई वितरण गरिरहेको उद्योगकका व्यवस्थापक श्रीनारायण मेहेताले जानकारी दिए ।
यसले दैनिक ५० हजारभन्दा धेरै घाटा भइरहेको भन्दै उनले समस्या समाधानका लागि आग्रह गरे ।
तिला कर्णाली पानी प्रशोधन उद्योगका सञ्चालक जगत् शाहीले पनि विद्युत् भोल्टेजका दुई महिनादेखि सानो बोत्तलको पानी उत्पादन बन्द गरिएको बताए ।
यस्तै औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको मध्यपश्चिम पानी प्रशोधन उद्योगले जेनेरेटरको सहायतामा पानी प्रशोधन गरेर बजारमा पठाइरहेको सञ्चालक कृष्ण आचार्यले बताए ।
विद्युत् समस्याका कारण पानी उत्पादनमा समस्या भएपछि यहाँ पानीको मूल्यसमेत बढेको छ । यसअघि रु एक सय ४० पर्ने कार्टुनको अहिले रु एक सय ६० पर्न थालेपछि उपभोक्ता मारमा परेका छन् ।