
आईसीसी टी–२० क्रिकेट अन्तर्गत सुपर-८ को खेलमा दक्षिण अफ्रिकासँग अमेरिका पराजित भएको छ । बुधबार राति सम्पन्न खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको हो ।
दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १७६ रन बनाउन सक्यो ।
एन्ड्रियास गसले अविजित ८० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३३ बलमा अर्धशतक पूरा गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १९४ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रन र कप्तान ऐडन मार्क्रमले ४६ रन जोडेका थिए ।
हेनरिच क्लासनले २२ बलमा ३६ रन तथा ट्रिस्टन स्टब्सले १६ बलमा २० रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
यता अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिएका थिए ।