
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता कोपा अमेरिका शुक्रवारदेखि शुरू हुँदैछ ।
पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले क्यानडाको सामना गर्दैछ । समूह ‘ए’को यो खेल नेपाली समयअनुसार शुक्रवार बिहान ५ः४५ बजे अमेरिकाको एटलान्टास्थित मेर्केडेस–बेन्ज रंगशालामा हुनेछ ।
प्रतियोगितामा दक्षिण अमेरिका, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका गरी १६ टोलीले सहभागिता जनाउने छन् । सामान्यतया कोपा अमेरिकामा दक्षिण अमेरिकी १० राष्ट्र र बढीमा २ आमन्त्रित टोली प्रतिस्पर्धा गर्ने गर्थे । तर यो वर्षदेखि उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका ६ टोलीलाई पनि समावेश गरिएको हो । यी टोली भने छनोट भएर आएका हुन् । दक्षिण अमेरिकी १० टोलीले भने सिधै प्रतियोगितामा खेल्ने अवसर पाएका छन् ।
यसअघि सन् २०१६ मा कोपा अमेरिकाको १०० औँ वार्षिकीका अवसरमा अमेरिकालाई प्रतियोगिता गर्न दिइएको थियो । यो पटक पनि उसैले अवसर पाएको छ । त्यो बेला पनि दक्षिण अमेरिकाका १० र अन्य ६ गरी १६ टोलीले नै सहभागिता जनाएका थिए ।
हरेक ४ वर्षमा हुने तय गरिएको प्रतियोगिता सन् २०२० मा कोरोना भाइरस महामारीका कारण हुन सकेन । त्यसको सट्टा २०२१ मा खेलाइयो । सो प्रतियोगितामा घरेलु टोली ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो ।
शुक्रवार बिहान पनि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना क्यानडालाई हराएर प्रतियोगिताको सुखद शुरूवात गर्न चाहन्छ ।
यस्तो छ समूह विभाजनः
समूह एः अर्जेन्टिना, पेरू, चिली, क्यानडा
समूह बीः मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका
समूह सीः अमेरिका, उरुग्वे, पानामा, बोलिभिया
समूह डीः ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका ।