
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्नेमा आफू विश्वस्त भएको बताएका छन् ।
बिहीवार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रदेशको समृद्धिका लागि बजेट फलदायी हुनेछ । बजेट प्रदेशबासीको आकांक्षा सम्बोधन गर्न सफल भएको छ,’ उनले भने ।
कृषि, पर्यटन, उद्योग र वनलाई समृद्धिको आधार मानेर सरकारले बजेट ल्याएको बताउँदै पूर्वमुख्यमन्त्री गिरीले बजेटले प्रदेशको समृद्धिको बाटो तय गरेको दाबी गरे ।
‘आर्थिक वर्ष २०८१–८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा प्रदेशलाई समृद्ध बनाउने थुप्रै आधार छन,’ उनले भने, ‘कृषि, पर्यटन, उद्योग, वन प्रदेशका समृद्धिका आधार हुन् । यी क्षेत्रको विकास गरी समृद्ध प्रदेश निर्माणको अभिलाषा बजेटमा देखिन्छ । यो प्रदेशका लागि सकारात्मक पक्ष हो ।’
उक्त अवसरमा दलका नेता गिरीले बजेटलाई गम्भीरताका साथ अध्ययन गरी त्यसका सकारात्मक पक्षका बारेमा जनतालाई साक्षात्कार गराउन प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिए ।
‘बजेटलाई गम्भीरताका साथ अध्ययन गरेर यसका सकारात्मक पक्षको बारेमा जनतालाई साक्षात्कार गर्ने काम सभाका सदस्यको हो । तपाईँहरू यो कार्यमा जुट्नुहोस्,’ उनले निर्देशन दिँदै भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा योजना परे–नपरेकोमा मात्रै ध्यान दिनुभन्दा पनि बजेटले दिन खोजेको सन्देशलाई जनतामाझ लैजानुहोस् ।’
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले बजेटप्रति सकारात्मक प्रतिक्रिया आइरहेको बताए ।
यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री दिनेश पन्थी र सामाजिक विकासमन्त्री रत्न खत्रीले प्रदेशका सबै क्षेत्रलाई बजेटले समेटेको बताए ।