
बुटवलको मुख्य बजार क्षेत्र मिलनचोकस्थित डेल्टा सुपर स्टोर (मार्ट)मा आगलागी हुँदा झण्डै ५० करोड रुपैयाँको क्षति भएको छ । मार्टका सञ्चालक घनश्याम पाठकले पूर्ण विवरण नआए पनि ५० करोड बढी क्षति भएको बताए । आगोले भवनका सबै सामान जलेर नष्ट भएका छन् । मार्ट पाँच वर्षअघि सञ्चालनमा आएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसल र सामानहरू आगोले खरानी भएका छन् ।
बिहीबार साँझ साढे ६ बजेबाट लागेको आगो ८ घण्टापछि शुक्रबार राति २ बजे मात्र निभाउन सकिएको थियो । मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बिचमा रहेको मार्टमा लागेको आगो अन्यत्र फैलिन जोगाइए पनि मार्ट भने पूर्णरूपमा ध्वस्त भएको छ ।
मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ साढे ६ बजेदेखि आगलागी शुरू भएको थियो । झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोशाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्न मार्ट सञ्चालनमा थिए ।
आगलागीपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर र लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको रामग्राम, बर्दघाट, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेतगरी १३ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । चारैतर्फ प्यानलबोर्ड र सिसा जडानगरी निर्माण गरिएका कारण कम्प्लेक्सको चौथो तल्लाबाट शुरू भएको आगो एकैपटक सबै तलामा फैलिएको थियो ।
माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तीन वटा तलामा नेपाली जुत्ता घर, नेपाली लुगा घर र खाद्यान्न पसल थिए । बुटवलका ठूला व्यवासायी र शिक्षण पेशाका अगुवाहरूले ५ वर्षपहिले सञ्चालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुई वर्षदेखि जुत्ता घर र नेपाली लुगा घरपनि सञ्चालन गरिएको थियो ।
कम्प्लेक्समा सञ्चालित विभिन्न पसल तथा फर्महरूमा २०० बढीले रोजगारी पाएका थिए ।
विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि अझै वास्तविकता पत्ता लागेको छैन ।