
नयाँ दिल्ली–गर्मीको समयमा शहर लगातार तातो हुँदै जाँदा शनिबार भारतको राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो ।
दिल्लीमा पानीको अभावका कारण मयूर बिहार क्षेत्रका गाउँ, सञ्जय कोलोनी, ओखला क्षेत्र र गीता कोलोनीका मानिसहरू लाइनमा उभिइ क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ ।
यी दृश्यहरू यो वर्षको गर्मी मौसम शुरू भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् ।
यसैबीच, पानी सङ्कटमा राजनीतिक खिचातानी भएको छ । हरियाणा सरकारले दिल्लीका लागि पानी नछोडेको आरोप लगाउँदै दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार अनिश्चितकालीन भोक हडतालमा बसेकी छिन् ।
यसैबीच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर उनका पति दुःखी भएको बताएकी छिन् ।
भाजपाका सांसद बाँसुरी स्वराजले आप सरकारले ‘भ्रष्टाचारलाई प्रोत्साहित गर्न’ संकटलाई ‘योजनाबद्ध’ गरेको आरोप लगाइन् ।
पानीको सङ्ट, प्राकृतिक सङ्कट नभई, केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको स्वराजले उल्लेख गरेकी छिन् ।
उनले शहर सुख्खा भइ दिल्ली असहज अवस्थामा हुदाँ केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अनसनको धम्की दिइरहेको बताइन् ।