२५ जेठ २०८३, सोमबार

रोनाल्डो बने युरोकपमा सर्वाधिक एसिस्ट गर्ने खेलाडी

असार ९, २०८१
काठमाडौं
रोनाल्डो बने युरोकपमा सर्वाधिक एसिस्ट गर्ने खेलाडी

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोकप फूटबल प्रतियोगिताको इतिहासमै सर्वाधिक एसिस्ट (गोलका लागि अन्तिम सहयोग) गर्ने खेलाडी बनेका छन् ।

जर्मनीमा जारी युरोकपअन्तर्गत शनिवार राति टर्कीविरुद्धको खेलमा १ एसिस्ट गरेसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले पोर्चुगलका लागि तेस्रो गोल गरेका थिए । 

अब रोनाल्डोको नाममा ८ एसिस्ट भएको छ । युरोकपमा सर्वाधिक गोलको कीर्तिमान पनि रोनाल्डोकै नाममा छ । उनले १४ गोल गरेका छन् । 

जारी प्रतियोगिताअन्तर्गत २ खेलमा शतप्रतिशत जीत निकालेसँगै पोर्चुगल समूह विजेता बन्दै दोस्रो चरणमा पुगिसकेको छ ।

शनिवार राति डर्टमुन्डमा भएको खेलमा टर्कीमाथि ३–० गोल अन्तरको सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।

दुई खेलमा लगातार जीत निकालेको पोर्चुगलले ६ अंक जोडेको छ । उ एक खेलअगावै समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको हो ।

पोर्चुगलको जीतमा बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेसले १–१ गोल गरेका थिए । पोर्चुगलले १ गोल भने उपहार पाएको थियो । टर्कीका डिफेन्डर समेट अक्यादिनले खेलको २८ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् ।

फर्नान्डेसले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा खेलको ५५ औँ मिनेटमा गोल गरेका हुन् ।

यसअघि सिल्भा खेलको २१ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  

समूह ‘एफ’कै खेलमा शनिबार साँझ जर्जिया र चेक गणतन्त्रले बराबरी खेलेका थिए ।

यो समूहमा एक खेलअगावै ‘हेड टू हेड’का आधारमा पोर्चुगल समूह विजेता बनेको हो । पोर्चुगलले पहिलो खेलमा चेक गणतन्त्रविरुद्ध २–१ गोल अन्तरको संघर्षपूर्ण जीत निकालेको थियो । 

यो समूहमा पोर्चुगलको ६ तथा टर्कीको ३ अंक छ । चेक गणतन्त्र र जर्जियाले भने १–१ अंक मात्र जोडेका छन् । तीनवटै टोलीको अन्तिम १६ मा जाने बाटो बन्द भएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्