
चीनमा लगेर नेपाली युवती बेचनबिखन गरेको आरोपमा प्रहरीले उदयपुरको त्रियुगाकी सुन्दरी राईलाई पक्राउ गरेको छ ।
राईले सामाजिक सञ्जालमार्फत चिनजान भएकी एक युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरेर चीन गए राम्रो हुने आश्वासन दिएकी थिइन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार राईले ठमेलमा बोलाएर युवतीलाई चिनियाँ केटासँग भेटाएकी थिइन् ।
राईकै योजनाअनुसार गत फागुन १० गते युवती चीन पुगिन् । चीनमा युवती पुर्याएपछि राईले उनलाई एक लाख ५० हजारमा बिक्री गरेर फर्किइन् ।
पीडितले ब्युरोमा बताएअनुसार चिनियाँ केटाले उनलाई मानसिकसँगै शारीरिक यातना पनि दिएका थिए । आफूमाथि पटक–पटक यौनशोषण भएपछि पीडित युवतीलाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा यही असार ९ गते नेपाल उद्दार गरिएको जानकारी एसपी मिश्रले दिए ।
युवतीकै जाहेरीका आधारमा आरोपी राईलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।