०१ साउन २०८३, शुक्रबार
ठूला दलका शीर्ष नेताको बैठक

टीआरसीलाई चाँडै टुंगोमा पुर्‍याउने निर्णय, तीन दलका तीनै सदस्य तोकेर जिम्मेवारी दिइने

असार १३, २०८१
काठमाडौं
टीआरसीलाई चाँडै टुंगोमा पुर्‍याउने निर्णय, तीन दलका तीनै सदस्य तोकेर जिम्मेवारी दिइने

संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक चाँडै टुंगोमा पुर्याउन प्रमुख तीन दलबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरू सहमत भएका हुन् ।

माओवादी केन्द्रमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीमा सहमति खोज्न उक्त बैठक बोलाएका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै सत्तापक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए । 

टीआरसीलाई चाँडै​ टुंगोमा पुर्याउन ठूला तीन दलबीच सहमति भएको बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।  

‘विशेषगरी टीआरसीलाई टुंगोमा पुर्याउने विषयमै छलफल केन्द्रित थियो,’ बर्तौलाले लोकान्तरसँग भने,‘ संसदको कानून तथा न्याय समितिमा विचाराधीन रहेको विधेयकलाई पुनः छलफलमा ल्याउने र सहमति गर्ने भनिएको छ । यसका लागि तीन दल क्रमशः कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक–एक जना सदस्यलाई जिम्मेवारी दिइने भएको छ ।'

तीनजना सदस्य को–को रहने भन्ने विषय एक–दुई दिनभित्रै तोकिने जानकारी बर्तौलाले दिए । यसअघि कांग्रेससहितको गठबन्धनकै बेला प्रधानमन्त्री प्रचण्डले टीआरसीलाई टुंगोमा पुर्याउन खोजेका थिए । तर, बीचमै गठबन्धन फेरियो । गठबन्धन फेरिएलगत्तै टीआरसी विधेयकबारेको छलफलले तीव्रता पाएको थिएन । 

अहिले सत्तापक्षका प्रमुख नेता एवं एमाले अध्यक्ष ओलीले टीआरसी टुंग्याउनुपर्नेमा सकारात्मक रहेको बुझिन्छ । त्यसो त गठबन्धन बनेपछि ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’मा टीआरसीसम्बन्धी कानून तत्काल बनाउने र टुंगोमा पुर्याइने उल्लेख गरिएको थियो । 

छलफलमा कांग्रेसका तर्फबाट नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र राधेश्याम अधिकारी सहभागी थिए ।

त्यस्तै एमालेका तर्फबाट सहभागी अन्य नेतामा प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला, अग्नि खरेल र माओवादीबाट जनार्दन शर्मालगायतका नेता सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्