०५ साउन २०८३, मंगलबार

मनसुन सक्रिय: तीन जिल्लामा रातिदेखि नै भारी वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला ठूलो पानी ?

असार १४, २०८१
काठमाडौं
मनसुन सक्रिय: तीन जिल्लामा रातिदेखि नै भारी वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला ठूलो पानी ?

मुलुकका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक र चितवनलगायत क्षेत्रमा ठूलो पानी परेको हो । 

चितवनको कल्याणपुर र चर्चरे वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको विभागले जनाएको छ । यो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेकोले आसपासका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

यस्तै, गएराति काठमाण्डौंस्थित कपन वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । यसले धोबीखोला नदीमा बहाव बढ्ने सम्भावना भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

यसैगरी सिन्धुपाल्चोकस्थित गोब्रे र मानेखर्क वर्षामापन केन्द्रमा पछिल्लो पनि मध्यमदेखि भारी वर्षा मापन भएको छ । यो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ । 

आजदेखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नेपालनजिक सरेकाले देशभर प्रभाव देखिएको हो । 

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको विभागले जनाएको छ । 

आज दिउँसो पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र  बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्