२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

घरजग्गा खरिद बिक्री गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य, मनसुन थप सक्रिय

असार १४, २०८१
काठमाडौं
घरजग्गा खरिद बिक्री गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य, मनसुन थप सक्रिय

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।

अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
००००
संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक चाँडै टुंगोमा पुर्याउन प्रमुख तीन दलबीच सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सहमत भएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । 

बिहीवार आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी प्रवक्ता जगन्नाथ खतिवडाले दिए ।
००००
स्थापनाको २ वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र अस्वाभाविक छटपटी र उकुसमुकुस विस्फोट हुन थालेको छ । २०७९ असार ७ गते स्थापना भएलगत्तै ५ महिनापछिको चुनावमा २० सिट जितेर रास्वपाले परम्परागत दलविरुद्ध धावा बोलेको थियो । 

टेलिभिजन प्रस्तोताको रूपमा जबर्जस्त छवि बनाएका रवि लामिछानेले आफ्नै ‘ब्रान्ड’मा रास्वपालाई स्थापित गराए । छोटो समयमा पार्टीलाई संसदमा २१ सिट दिलाएर चौथो शक्तिमा पनि र्पुयाए । उनकै नाम र ब्रान्डले रास्वपाले छोटो समयमा परम्परागत शक्ति कांग्रेस, एमाले र माओवादीलाई हायलकायल नै बनाइदियो । पुराना दललाई ‘सक्किने कि सच्चिने’ भन्नेसम्मको स्थितिमा र्पुयाउने गरी रास्वपाले चितवन– २ र तनहुँ– १ को उपनिर्वाचनमा पनि शानदार जीत दर्ता र्गयो ।

रातारात उदय र उचाइ रास्वपाको पहिचान थियो । उदयकै रफ्तारमा विवाद, संकट र समस्याको चाङमा रास्वपा भासिँदै आएको छ । पार्टीभित्र देखिएका बेथिति र असन्तुष्टि यसअघि नेताको तहमै सीमित हुन्थ्यो । यसअघि नेताको तहमै सीमित भएका असन्तुष्टि विस्तारै छताछुल्ल हुन थालेका छन् । 

पार्टी स्थापनाको केही समयसम्म सभापति लामिछानेका विश्वासपात्र मानिने महामन्त्री एवं पार्टी प्रवक्ता डा मुकुल ढकालले देशभर डुलेर सभापतिलाई बुझाएको प्रतिवेदनले असन्तुष्टि विस्फोटको संकेत गरेको हो ।
००००
पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले बिहीबार पनि निरन्तरता पाएको हो । 

यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो ।
००००
सेन्चुरी कमर्सियल बैंकले नक्कली कर चुक्ता प्रमाण पत्रकै आधारमा २ अर्ब ३० करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको पाइएको छ । बैंकका कर्मचारी र पदाधिकारीको मिलेमतोमा थाहा हुँदाहुँदै पनि कर्जा प्रवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुईपटक गरेर पक्राउ परेका १९ जनालाई तारेखमा छाडेर विस्तृत अनुसन्धान थालेको छ ।
००००
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । 

महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो ।
००००
गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ । सर्वोच्च अदालतले सांसद पद थमौती गरेपछि बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादा पालकले रोकेका हुन् ।
००००
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । 

कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । 

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्