११ असार २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

बादलका छोरा पक्राउदेखि देशभर मनसुनी वायुको प्रभावसम्म

असार १५, २०८१
काठमाडौं
बादलका छोरा पक्राउदेखि देशभर मनसुनी वायुको प्रभावसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । केहीदिन अत्यधिक वर्षा हुने भएकाले सचेतक रहन महाशाखाले अनुरोध गरेको छ। 
००००
गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । 

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् । 

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको  शव फेला परेको छ । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ ।
००००
बाग्लुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुईजना घाइते भएका छन् । 

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

अत्यधिक वर्षाका कारण गल्कोट, मुसीकोट, आँपचौर(अर्घाखाँची), स्याङ्जा, पन्चपुल स्टेसनमा जलसतह खतराको बिन्दुमा पुगेको छ । तर अहिलेसम्म देशका कुनै नदीमा पनि चेतावनी जारी हुने गरी बाढी भने आएको छैन । 
००००
माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजामा नन ग्रेड ल्याएका सबै विद्यार्थीहरूले नि पूरक परीक्षा दिन पाउने भएका छन्। 

शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले  दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका सबै विद्यार्थीहरूले परीक्षा दिन पाउने गरी निर्णय गरेको हो । यसअघि २ विषयमा नन ग्रेड ल्याएकाले मात्रै पूरक दिन पाउने भनिएको थियो ।
००००
राजधानीको बौद्धबाट पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेश गरिने भएको छ । 

आज शनिबार सार्वजनिक बिदा भएकाले आइतबार उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका  उनी अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा  शुक्रबार पक्राउ परेका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । 

आयोगले शुक्रबार उनलाई स्पष्टीकरण सोधेको हो । ढकालले पार्टी ओरालो यात्रामा रहेको निष्कर्षसहित सभापति रवि लामिछानेलाई केही दिनअघि प्रतिवेदन बुझाएका थिए । 
००००
नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष नियुक्तिसम्बन्धि सम्पूर्ण प्रक्रिया रद्द गरिएको छ । नियुक्तिका लागि गठित समितिले शुक्रवार एक सूचना जारी गर्दै सम्पूर्ण प्रक्रिया रद्द भएको जानकारी दिएको छ ।

उक्त समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ हुन् । शुक्रवार बसेको समितिको बैठकले प्रक्रिया रद्द हुने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्