
कृष्ण मरासिनीका बुवा नागका चित्र कोर्थे । नागपञ्चमीको बेला पोखराको बगाले टोलका अधिकांशको घरमा उनका बुवाले बनाएका नागका चित्र टाँसिन्थ्यो । आफ्ना बुवाले बनाएका चित्र देखेर दंग पर्थे उनी । उनलाई बुवाले जस्तै चित्र बनाउने रहर लाग्न थाल्यो । उनका दाइले पनि कपीमा मान्छेका आकृति कोर्थे । कृष्णलाई विस्तारै बुवाको भन्दा दाइको चित्रले लोभ्यायो । आफूलाई पनि मान्छेको आकृति कोर्ने चाहना भयो । यही चाहनालाई मूर्तरूप दिन उनले मेहनत गर्दै गए । दाइको नक्कल गर्दै उनले पनि कहिलेकाहीँ कापीमा चित्र कोर्न थाले । क्रमशः राम्रो हुँदै गयो ।
कक्षा ८ पढ्दा पहिलोपटक चित्र कोरेको कृष्णलाई याद छ । त्यो बेला कसको चित्र कोरे त्यो भने उनी ठ्याक्कै सम्झन सक्दैनन् । तर, कोरेको चित्र कसैको आकृति हो भन्ने चाहिँ उनलाई याद छ । ‘मेरो दाइले कपीमा मुहारचित्र कोर्न थाल्नुभयो । मलाई त्यसको प्रभाव पर्यो । जानेर नभएर त्यत्तिकै मैले पनि कोर्न थालेँ । बिस्तारै राम्रो हुँदै गयो,’ उनले भने ।
अहिले कृष्णले दैनिक एक व्यक्तिको मुहारचित्र (पोट्रेट) कोर्छन् र सामाजिक सञ्जाल फेसबूकमा राख्छन् । उनले यसरी २ हजार ९३६ वटा ‘प्रोटेट’ बनाइसकेका छन् ।
चित्र कोरेकोबारे उनीसँग बालापनको एउटा रमाइलो किस्सा छ । कक्षा ९ मा शिक्षकले चित्र बनाउने गृहकार्य दिए । कृष्णले कुखुराको चित्र बनाएर लगे । उनको चित्र हेरेर शिक्षकले गाली गरे । उनले बनाएको भनेर नपत्याएर शिक्षकले त्यसरी गाली गरेका थिए ।
‘मेरो चित्र हेरेपछि सरले मलाई बोलाउनुभयो र गाली गर्नुभयो । बनाएको चित्र कोरिदिनुभयो । उहाँले कोरेर होइन, छापेर ल्याइस् भन्नुभयो,’ रमाइलो मान्दै उनले पुराना दिन सम्झिए, ‘यसको अर्थ मैले जस्ताको तस्तै बनाएको रहेछु । यही सोचेर चित्त बुझाएँ । त्यतिबेला सरसँग प्रतिवाद गर्ने ममा संस्कार थिएन । त्यसैले चुप लागेर सिटमा गएर बसेँ ।’
चित्र कोर्न मन भए पनि कृष्णले कला क्षेत्रमा नै भविष्य देखेर त्यता लाग्ने सोचेनन् । विसं २०३५ सालमा एसएलसी दिएका उनले त्यसबीच कहिलेकाहीँ चित्र कोर्थे । उनलाई पोट्रेट कोर्न मनपथ्र्यो । २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भयो । त्यतिबेला एकजना कोरियाली नागरिकले उनको पोट्रेट बनाइदिए । त्यसपछि उनी झनै चित्रकलाप्रति आकर्षित भए । ‘ती कोरियन मेरो घर छेउमै बस्थे । त्यही बेला उनले मेरो पोट्रेट बनाइदिएका हुन् । त्यसबाट म चित्रकलाप्रति थप प्रभावित भएँ,’ उनले भने ।
चित्र कोर्नु कृष्णको सोख मात्र हो । त्यसैले पनि उनी यसैमा मात्र लागेनन् । २०४१ सालमा बागलुङमा सरकारी जागिर खान पुगे । त्यहाँ हुँदा कार्यालयका सहकर्मीको चित्र बनाइदिए । उनलाई आफूले कलर प्रयोग गरेर बनाएको चित्र मनपर्यो । त्यसपछि पोखरा सरुवा भएर आए । रहरले चित्र कोर्ने कृष्ण त्योताका जागिरमै व्यस्त भए । यसले गर्दा उनले चित्र कोर्ने रहर लामो समय थाँती राखे । २०७२ मा भूकम्प गयो । धनजनको क्षति भयो । यसलाई लिएर उनी अलि भावुक बने । अनि फेरि शुरू गरे चित्र बनाउन । त्यसपछि उनले प्रोटेट बनाएर प्रदर्शनी गरे । बगाले टोल सामाजिक विकास केन्द्रसँग हातेमालो गरेर उनले प्रदर्शनी कार्यक्रम गरेका थिए । त्यसबाट प्राप्त रकम भूकम्प पीडितलाई सहयोग गरिएको थियो । त्यस समय उनले ८० जनाको प्रोट्रेट बनाए । जसको पोेट्रेट बनाएका थिए त्यो तिनै व्यक्तिले खरिद गरे । त्यसरी जम्मा भएको रकम भूकम्प पीडितलाई सहयोग गरिएको थियो ।
‘२०७२ को भूकम्पले देशमा ठूलो धनजनको क्षति गर्यो । यसले मलाई अलि भावुक बनायो । पीडितका लागि केही गर्नुपर्छ भन्ने सोचेँ । त्यसपछि टोलका करिब ८० जनाको पोट्रेट बनाएँ । प्रदर्शनी गरेँ । त्यसबाट प्राप्त रकम भूकम्प पीडितको सहयोगमा खर्चिएँ,’ उनले भने ।
कृष्ण आजकल अरु चित्र कोर्दैनन् । खाली पेन्सिल प्रयोग गरे पोट्रेट मात्र बनाउँछन् । छोराका साथीले पेन्सिल प्रयोग गरेर प्रोट्रेट बनाइदिएछन् । सो चित्र उनलाई मनपर्यो । त्यसपछि उनी लगातार प्रोटेट आर्ट गर्न थालेका हुन् ।
‘साथीले पेन्सिल प्रयोग गरेर छोराको प्रोट्रेट बनाइदिएछन् । त्यो देखेर कलरभन्दा पेन्सिल प्रयोग गरेर राम्रो पोट्रेट बन्ने रहेछ भन्ने मलाई लाग्यो । त्यसपछि म त्यतैतिर ढल्किएको हुँ । यो ७२–७३ सालतिरको कुरा हो,’ उनले सुनाए, ‘अहिले म दैनिक एक जनाको प्रोटेट बनाएर फेसबूकमा हाल्छु । आजसम्म २ हजार ९३६ वटा प्रोटेट बनाइसकेको छु ।’
कृष्णले पोट्रेट बनाउने शुरूवात आफैँबाट गरेका थिए । यसको मतलब उनले आफ्नै पहिलोपटक बनाएको पोट्रेट आफ्नै हो । पहिलोबाटै राम्रो प्रतिक्रिया आएपछि उनलाई थप हौसला मिल्दै गएको हो ।
कृष्ण चित्र हरेक बिहान दुई–तीन घण्टा प्रोट्रेटका लागि समय दिन्छन् । जति व्यस्त दैनिकी भएपनि हरेक दिन एउटा चित्र कोर्न छोड्दैनन् । कतै जाने वा केही काम छ भने बिहान सबेरै उठेर चित्र कोर्छन् । अनि त्यसलाई सबेरै फेसबूकमा हाल्छन् । उनले त्यसलाई ‘बसिबियाँलो’ शीर्षक दिएका छन् ।
‘पोट्रेट बनाउन फुर्सद हुनासाथ बिहान दुई–तीन घण्टा समय दिन्छु । जति अभ्यास गर्यो त्यति नै काम राम्रो हुन्छ । कलम तिखारिन्छ । आत्मसन्तुष्टि मिल्छ । चित्र बनाउँदा ध्यान गरेजस्तो हुन्छ,’ उनी भन्छन् ।
कृष्णलाई साहित्यप्रति विशेष रुचि छ । त्यसैले साहित्यकारको चित्र कोर्न उनी बढी रुचाउँछन् । आफूले साहित्य सिर्जना नगर्ने भएपनि उनी साहित्यिक कार्यक्रममा भने गइरहन्छन् । कृष्णलाई कहिलेकाहीँ पुस्तकको आवरण कोरिदिन आग्रह आउँछ । तर, उनले पोट्रेटबाहेक अन्यमा हात नचलाउने सोचेका छन् ।
वन तालिम केन्द्रमा शाखा अधिकृत थिए कृष्ण । २०७६ सालमा त्यसबाट सरकारी जागिरबाट अवकाश पाए । त्यसपछि आफ्नो चित्र कलालाई थप समय दिन पाएका छन् । दैनिक चित्र कोरेकै हुन्छन् । उनले आफ्नै खुशीले बनाएका व्यक्तिका पोट्रेट अरुलाई दिँदैनन्, आफैं राख्छन् । कहिलेकाहीँ उनलाई कुनै व्यक्तिबाट पोट्रेट बनाइदिन आग्रह आउँछ । यस्तोमा उनले बनाएको पैसा लिँदैनन् ।
उनले आफ्नो ‘बसिबियाँलो’मा बनाएका चित्र अरुलाई दिँदैनन् । तर, कसैले व्यावसायिक रुपमै चित्र बनाइदिन अर्डर गरे भने चाहिँ पैसा लिने गर्छन् ।
‘कसैले अर्डर नै गरेर चित्र बनाउन दिए भने त्यसको पैसा लिन्छु । मैले आफ्नै रहरले बनाएका पोट्रेट चाहिँ बेच्ने गरेको छैन,’ उनी भन्छन् ।
शुरूमा बनाएका कति पोट्रेट कृष्णले सित्तैमा बाँडिदिए । ‘शुरू–शुरूमा बनाएका धेरै पोट्रेट सित्तैमा बाँडे । केही हराए । तीबाहेक सबै फाइलमा संग्रह गरेर राखेको छु,’ उनले सुनाए ।