१७ असार २०८३, बुधबार
सरकारी जागिरेको चित्रकला मोह

सोखले चित्रकार बनेका कृष्णको कामः हरेक बिहान एउटा ‘पोट्रेट’ तमाम

असार १५, २०८१
काठमाडौं
सोखले चित्रकार बनेका कृष्णको कामः हरेक बिहान एउटा ‘पोट्रेट’ तमाम

कृष्ण मरासिनीका बुवा नागका चित्र कोर्थे । नागपञ्चमीको बेला पोखराको बगाले टोलका अधिकांशको घरमा उनका बुवाले बनाएका नागका चित्र टाँसिन्थ्यो । आफ्ना बुवाले बनाएका चित्र देखेर दंग पर्थे उनी । उनलाई बुवाले जस्तै चित्र बनाउने रहर लाग्न थाल्यो ।  उनका दाइले पनि कपीमा मान्छेका आकृति कोर्थे । कृष्णलाई विस्तारै बुवाको भन्दा दाइको चित्रले लोभ्यायो । आफूलाई पनि मान्छेको आकृति कोर्ने चाहना भयो । यही चाहनालाई मूर्तरूप दिन उनले मेहनत गर्दै गए । दाइको नक्कल गर्दै उनले पनि कहिलेकाहीँ कापीमा चित्र कोर्न थाले । क्रमशः राम्रो हुँदै गयो । 

कक्षा ८ पढ्दा पहिलोपटक चित्र कोरेको कृष्णलाई याद छ । त्यो बेला कसको चित्र कोरे त्यो भने उनी ठ्याक्कै सम्झन सक्दैनन् । तर, कोरेको चित्र कसैको आकृति हो भन्ने चाहिँ उनलाई याद छ । ‘मेरो दाइले कपीमा मुहारचित्र कोर्न थाल्नुभयो । मलाई त्यसको प्रभाव पर्यो । जानेर नभएर त्यत्तिकै मैले पनि कोर्न थालेँ । बिस्तारै राम्रो हुँदै गयो,’ उनले भने । 

अहिले कृष्णले दैनिक एक व्यक्तिको मुहारचित्र (पोट्रेट) कोर्छन् र सामाजिक सञ्जाल फेसबूकमा राख्छन् । उनले यसरी २ हजार ९३६ वटा ‘प्रोटेट’ बनाइसकेका छन् । 

चित्र कोरेकोबारे उनीसँग बालापनको एउटा रमाइलो किस्सा छ । कक्षा ९ मा शिक्षकले चित्र बनाउने गृहकार्य दिए । कृष्णले कुखुराको चित्र बनाएर लगे । उनको चित्र हेरेर शिक्षकले गाली गरे । उनले बनाएको भनेर नपत्याएर शिक्षकले त्यसरी गाली गरेका थिए । 

null

‘मेरो चित्र हेरेपछि सरले मलाई बोलाउनुभयो र गाली गर्नुभयो । बनाएको चित्र कोरिदिनुभयो । उहाँले कोरेर होइन, छापेर ल्याइस् भन्नुभयो,’ रमाइलो मान्दै उनले पुराना दिन सम्झिए, ‘यसको अर्थ मैले जस्ताको तस्तै बनाएको रहेछु । यही सोचेर चित्त बुझाएँ । त्यतिबेला सरसँग प्रतिवाद गर्ने ममा संस्कार थिएन । त्यसैले चुप लागेर सिटमा गएर बसेँ ।’

चित्र कोर्न मन भए पनि कृष्णले कला क्षेत्रमा नै भविष्य देखेर त्यता लाग्ने सोचेनन् । विसं २०३५ सालमा एसएलसी दिएका उनले त्यसबीच कहिलेकाहीँ चित्र कोर्थे । उनलाई पोट्रेट कोर्न मनपथ्र्यो । २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भयो । त्यतिबेला एकजना कोरियाली नागरिकले उनको पोट्रेट बनाइदिए । त्यसपछि उनी झनै चित्रकलाप्रति आकर्षित भए । ‘ती कोरियन मेरो घर छेउमै बस्थे । त्यही बेला उनले मेरो पोट्रेट बनाइदिएका हुन् । त्यसबाट म चित्रकलाप्रति थप प्रभावित भएँ,’ उनले भने ।

चित्र कोर्नु कृष्णको सोख मात्र हो । त्यसैले पनि उनी यसैमा मात्र लागेनन् । २०४१ सालमा बागलुङमा सरकारी जागिर खान पुगे । त्यहाँ हुँदा कार्यालयका सहकर्मीको चित्र बनाइदिए । उनलाई आफूले कलर प्रयोग गरेर बनाएको चित्र मनपर्‍यो । त्यसपछि पोखरा सरुवा भएर आए । रहरले चित्र कोर्ने कृष्ण त्योताका जागिरमै व्यस्त भए । यसले गर्दा उनले चित्र कोर्ने रहर लामो समय थाँती राखे । २०७२ मा भूकम्प गयो । धनजनको क्षति भयो । यसलाई लिएर उनी अलि भावुक बने । अनि फेरि शुरू गरे चित्र बनाउन । त्यसपछि उनले प्रोटेट बनाएर प्रदर्शनी गरे । बगाले टोल सामाजिक विकास केन्द्रसँग हातेमालो गरेर उनले प्रदर्शनी कार्यक्रम गरेका थिए । त्यसबाट प्राप्त रकम भूकम्प पीडितलाई सहयोग गरिएको थियो । त्यस समय उनले ८० जनाको प्रोट्रेट बनाए । जसको पोेट्रेट बनाएका थिए त्यो तिनै व्यक्तिले खरिद गरे । त्यसरी जम्मा भएको रकम भूकम्प पीडितलाई सहयोग गरिएको थियो । 

‘२०७२ को भूकम्पले देशमा ठूलो धनजनको क्षति गर्यो । यसले मलाई अलि भावुक बनायो । पीडितका लागि केही गर्नुपर्छ  भन्ने सोचेँ । त्यसपछि टोलका करिब ८० जनाको पोट्रेट बनाएँ । प्रदर्शनी गरेँ । त्यसबाट प्राप्त रकम भूकम्प पीडितको सहयोगमा खर्चिएँ,’ उनले भने ।   

कृष्ण आजकल अरु चित्र कोर्दैनन् । खाली पेन्सिल प्रयोग गरे पोट्रेट मात्र बनाउँछन् । छोराका साथीले पेन्सिल प्रयोग गरेर प्रोट्रेट बनाइदिएछन् । सो चित्र उनलाई मनपर्‍यो । त्यसपछि उनी लगातार प्रोटेट आर्ट गर्न थालेका हुन् ।

‘साथीले पेन्सिल प्रयोग गरेर छोराको प्रोट्रेट बनाइदिएछन् । त्यो देखेर कलरभन्दा पेन्सिल प्रयोग गरेर राम्रो पोट्रेट बन्ने रहेछ भन्ने मलाई लाग्यो । त्यसपछि म त्यतैतिर ढल्किएको हुँ । यो ७२–७३ सालतिरको कुरा हो,’ उनले सुनाए, ‘अहिले म दैनिक एक जनाको प्रोटेट बनाएर फेसबूकमा हाल्छु । आजसम्म २ हजार ९३६ वटा प्रोटेट बनाइसकेको छु ।’ 

कृष्णले पोट्रेट बनाउने शुरूवात आफैँबाट गरेका थिए । यसको मतलब उनले आफ्नै पहिलोपटक बनाएको पोट्रेट आफ्नै हो । पहिलोबाटै राम्रो प्रतिक्रिया आएपछि उनलाई थप हौसला मिल्दै गएको हो । 

कृष्ण चित्र हरेक बिहान दुई–तीन घण्टा प्रोट्रेटका लागि समय दिन्छन् । जति व्यस्त दैनिकी भएपनि हरेक दिन एउटा चित्र कोर्न छोड्दैनन् । कतै जाने वा केही काम छ भने बिहान सबेरै उठेर चित्र कोर्छन् । अनि त्यसलाई सबेरै फेसबूकमा हाल्छन् । उनले त्यसलाई ‘बसिबियाँलो’ शीर्षक दिएका छन् ।

‘पोट्रेट बनाउन फुर्सद हुनासाथ बिहान दुई–तीन घण्टा समय दिन्छु । जति अभ्यास गर्‍यो त्यति नै काम राम्रो हुन्छ । कलम तिखारिन्छ । आत्मसन्तुष्टि मिल्छ । चित्र बनाउँदा ध्यान गरेजस्तो हुन्छ,’ उनी भन्छन् ।  

कृष्णलाई साहित्यप्रति विशेष रुचि छ । त्यसैले साहित्यकारको चित्र कोर्न उनी बढी रुचाउँछन् । आफूले साहित्य सिर्जना नगर्ने भएपनि उनी साहित्यिक कार्यक्रममा भने गइरहन्छन् । कृष्णलाई कहिलेकाहीँ पुस्तकको आवरण कोरिदिन आग्रह आउँछ । तर, उनले पोट्रेटबाहेक अन्यमा हात नचलाउने सोचेका छन् । 

वन तालिम केन्द्रमा शाखा अधिकृत थिए कृष्ण । २०७६ सालमा त्यसबाट सरकारी जागिरबाट अवकाश पाए । त्यसपछि आफ्नो चित्र कलालाई थप समय दिन पाएका छन् । दैनिक चित्र कोरेकै हुन्छन् । उनले आफ्नै खुशीले बनाएका व्यक्तिका पोट्रेट अरुलाई दिँदैनन्, आफैं राख्छन् । कहिलेकाहीँ उनलाई कुनै व्यक्तिबाट पोट्रेट बनाइदिन आग्रह आउँछ । यस्तोमा उनले बनाएको पैसा लिँदैनन् ।

उनले आफ्नो ‘बसिबियाँलो’मा बनाएका चित्र अरुलाई दिँदैनन् । तर, कसैले व्यावसायिक रुपमै चित्र बनाइदिन अर्डर गरे भने चाहिँ पैसा लिने गर्छन् ।

‘कसैले अर्डर नै गरेर चित्र बनाउन दिए भने त्यसको पैसा लिन्छु । मैले आफ्नै रहरले बनाएका पोट्रेट चाहिँ बेच्ने गरेको छैन,’ उनी भन्छन् ।  

शुरूमा बनाएका कति पोट्रेट कृष्णले सित्तैमा बाँडिदिए । ‘शुरू–शुरूमा बनाएका धेरै पोट्रेट सित्तैमा बाँडे । केही हराए । तीबाहेक सबै फाइलमा संग्रह गरेर राखेको छु,’ उनले सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्