
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री मुकुल ढकालमाथि गम्भीर आरोप लगाएका छन् ।
ढकालले पार्टी सभापतिलाई पार्टीको गिर्दो शाखका विषयमा प्रतिवेदन बुझाए पनि कार्कीले उल्टै उनीमाथि प्रश्न गरेका हुन् ।
ढकालले केन्द्रीय समिति बैठकको लाइभ गर्नुपर्ने अडान राखिरहेको बेला कार्कीले सिकार गर्नेले घाइते मृगको आडैबाट उल्टो अन्याय भयो भनेर गर्जिनुमा कुनै तक नरहेको बताएका हुन् ।
‘साथीहरू, लाइभ गरौं । सबैले थाहा पाउन्, आफैले सिकार गर्दै घाइते मृगको आडैबाट उल्टो ममाथि अन्याय भइराछ भनेर को गर्जिरहेको छ !,’ सामाजिक संजालमा कार्कीले लेखेका छन्, ‘सबैले थाहा पाउन्, विधिलाई च्यातेर पार्टीको चरित्रमाथि पहिलो प्रहार कसले गरेको हो ! सबैले थाहा पाउन्, कसले अनेकन कृत्य गरेर डिलैमा पुर्यायो र झर्न लाग्यो भनेर आरोप लगाइरहेको छ ।’
रास्वपामा धोका, छलकपट र नातावाद गर्नेको घिनलाग्दो कपडा उतार्नुपर्ने पनि उनले बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीकारूपमा कहाँ कहाँ धोका, छलकपट, नातावाद, मैमत्तावाद र आत्ममुघ्धताको घिनलाग्दो कपडा लगायौं, खुला छलफल गरौं । एक एक उतारौं । केवली बनौं । राजनीतिक कैवल्य बाढौं । ताकी शान्ति र समृद्धिको बाटो पक्का र प्रस्ट बनोस्,’ उनले लेखेका छन्, ‘यही हो बाटो शुद्धीकरणको । र यो आवश्यक छ ।’
ढकालले पार्टी निरन्तर ओरालो लागेको भन्दै यस्तै भए अर्को चुनावमा एक दुई सिटमा सीमित हुनुपर्ने चुनौती दिएका छन् ।
प्रतिवेदनमा गम्भीर विषय उठाएपछि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएर छलफल गर्दैछ ।