
विराटनगरमा सेवाग्राहीलाई कुटपिट गरी हत्या गरेको आरोपमा होटल सञ्चालिका पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा विराटनगर- १९ बैजनाथपुरमा होटल सञ्चालन गर्ने ३५ वर्षीय तालीदेवी ऋषिदेव छिन् ।
शनिबार साँझ होटलमा आएका ५० वर्षीय वीरबल गोसाईंलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार मदिरा सेवन गर्न होटल पुगेका वीरबल र तालीदेवीबीच सामान्य विवाद भएको थियो । सोही क्रममा होटल सञ्चालिकाले कुटपिट गर्दा वीरबल घाइते भएका थिए ।
कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा आइतबार दिउँसो कोशी अस्पतालमा मृत्यु भएको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।