
म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा सडक मार्ग खुलेको डेढ दशकपछि कालोपत्र र ढलान भएको छ ।
बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो ।
गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ सशर्त अनुदान र बेनी नगरपालिकाको ३० लाख बजेट विनियोजन भएको आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो ।
बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इञ्जिनियर दिपेश केसीले बताए ।
कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो ।
विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताए । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताए ।
पशुपालक कृषकसमेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधि छोटिएर १० मिनेट भएको बताए ।
बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् ।
गत वर्ष अर्थुङ्गदेखि बाँसबोटसम्म करिब दुई सय मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ ।
बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको सङ्गमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ । रासस