
प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको चर्चा चलिरहेका बेला प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ ।
आइतवार दुईघण्टा लामो वार्ता गरेका ओली र प्रचण्डबीच सोमवार बिहान पुनः छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारको बरण्डामा दुई नेताबीच कुराकानी भएको छ ।
उता कांग्रेस र एमालेबीच संविधान संशोधनलगायत एजेण्डासहित नयाँ समीकरण बनाउने गृहकार्य चलिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच शनिवार भएको भेटले राजनीतिमा नयाँ ट्वीस्टको संकेत गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले भेट नियमित भएको र समसामयिक घटनाक्रमबारे छलफल भएको बताएको छ । ‘अहिले सत्ता समीकरण दलबीच कुनै संशय र असन्तुष्टि छैन । पछिल्लो समय दलहरूबीच भएका छलफललाई हामीले नकारात्मक रूपमा लिएका छैनौं,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘यस्ता छलफलले सत्तापक्ष–विपक्षीबीच विश्वास बढाउँछ । हिजो एमाले अध्यक्षसँग विभिन्न समसामयिक विषयको छलफल नसकिएकोले आज फेरि भएको हो ।’
हिजो ओलीलाई प्रचण्डले देउवासँग के–के कुराकानी भयो भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले ‘सिरियस संवाद’ भएको जवाफ फर्काएको दाबी गरिएको छ । ओलीको जवाफपछि प्रचण्ड झन् झस्किएको बताइन्छ ।
ओलीले आगामी आर्थिक वर्षको बजेट पनि माओवादी दलको जस्तो भनेर आलोचना गरेका थिए । राजदूत र अन्य नियुक्तिमासमेत ओली र प्रचण्डबीच मतान्तर बढेको बताइन्छ ।
यसै असन्तुष्टिपछि कांग्रेस र एमालेबीच संवाद भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । ‘सरकारको काम कारवाहीका विषयमा ओलीजीले लामो समयदेखि असन्तुष्टि देखाउँदै आउनुभएको छ । प्रचण्ड सरकार कामकाजी भएन र अब हुँदैन भन्ने उहाँहरू आशय देखिन्छ,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘यसपछि हाम्रो सभापति र एमाले अध्यक्षबीच राम्ररी कुराकानी भएको छ । छलफल सकारात्मक हुँदै गएको छ । तर सरकारको समीकरणमा नयाँ सहमति जुटिसकेको छैन ।’
अहिलेसम्मका विकसित घटनाक्रमबारे आज दिउँसो बस्ने कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र सिनियर नेताको बैठकमा छलफल हुने जानकारी विश्वकर्माले दिए ।