२६ जेठ २०८३, मंगलबार

राजदूतमा सिफारिस भएका अबु सुफियानसँग दोहोरो नागरिकता, शैक्षिक प्रमाणपत्र पनि नक्कली !

असार १८, २०८१
काठमाडौं
राजदूतमा सिफारिस भएका अबु सुफियानसँग दोहोरो नागरिकता, शैक्षिक प्रमाणपत्र पनि नक्कली !

साउदीअरबका लागि नेपाली राजदूतमा सिफारिस भएका अबु सुफियान खान मुसँग दोहोरो नागरिकता रहेको भन्दै उजुरी परेको छ ।

भारतीय नागरिक भएर उनले नेपालको समेत नागरिकता लिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको हो ।

असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित विभिन्न ८ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कोटामा साउदीअरबको राजदूतमा सिफारिस भएका हुन् ।

खान मु भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर बर्डपुर- ३ भगवनियाका बासिन्दा रहेको उजुरीमा दाबी गरिएको छ ।

null

स्रोतका अनुसार खान मुकी आमा आशियाना खातुन नेपाली चेली थिइन् । कपिलवस्तुको मायादेवी- २ की बासिन्दा आशियानाको बिहे उत्तरप्रदेशको भैसाहीका अबु बकरसँग बिहे भएको थियो । बिहेपछि उनकी आमासमेत भारतीय नागरिक बनेकी थिइन् ।  

आमाको कुनै दाजुभाइ नरहेका कारण कपिलवस्तुको मायादेवीको पैत्रिक सम्पत्ति तीन दीदीबहिनीले भागबन्डा गरेका थिए ।

null

२०५६ कात्तिक १० गते उनका बुवा अबु बकारले नेपालको नागरिकता पाएको देखिन्छ । उनले पाएको नागरिकताको अनुसूची फारम १ मा जन्ममिति २०१५ भदौ २५ गते उल्लेख छ भने मुचुल्कामा भने २०१५ कात्तिक १० गते उल्लेख छ ।

बुवाको उमेर अनुसूचीमा ४० वर्ष लेखिएको छ, अर्थात् उनले जन्मिएको ४० वर्षपछि मात्रै नागरिकता लिएको देखिन्छ ।

null

त्यसैगरी राजदूतमा सिफारिस खान मुले पाएको नागरिकताको अनुसूची फारममा जन्ममिति २०३६ पुस २८ गते उल्लेख गरिएको छ  । कतिसम्म भने खान मु र उनका बुवा अबु बकरले २०५६ कात्तिक १० गते एकैदिन नागरिकता लिएको देखिन्छ ।

कपिलवस्तुको साविक पतरिया गाविस- १ (हाल शुद्धोदन गाउँपालिका)बाट बुवाछोराले नागरिकता लिएका थिए ।

null

मु खान भारतीय नागरिक रहेको अन्य थुप्रै प्रमाणहरू समेत उजुरीसँगै पेश गरिएको छ ।

उनका बुवा अबु बकर, उनकी आमा अमिना खातुन, श्रीमती नुरजहाँ र उनको नाममा जारी भएको भारतीय मतदाता परिचयपत्रको प्रतिलिपि पनि उजुरीसँगै संलग्न गरिएको छ । त्यसबाहेक भारतको उद्धरण खतौनी (जग्गाधनी प्रमाणपत्र)को अभिलेखसमेत उजुरीसाथ संलग्न गरिएको छ । भारत उत्तरप्रदेशको बर्डपुर– ३ मा उनका बुवा अबु बकरको नाममा ६ विघा जग्गा रहेको जग्गाधनी पुर्जासमेत उजुरीसाथ संलग्न गरिएको छ ।

त्यसबाहेक राजदूतमा सिफारिस गरिएका खान मुको शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको दाबी उजुरीमा छ ।

भारतको नयाँ दिल्लीस्थित मद्रास रियाजुल उलुम उर्दुबजारबाट अरेबिक तथा इस्लामिक स्टडिजमा सन् १९९९ जनवरीमा बीए (स्नातक) र नोभेम्बर २००० मा सोही विषयमा एमए (स्नातकोत्तर) गरेको भनिएको छ ।

null

एक वर्षमै स्नातकोत्तर गरिएको भन्ने शैक्षिक प्रमाणपत्रको आधारमा पनि उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंकालाई बल पुग्छ । भारतको मतदाता सूची विवरणमा भने शैक्षिक योग्यता साक्षर मात्रै उल्लेख छ ।

नेपाली नागरिकताको आधारमा राहदानी समेत बनाएर उनले विगतमा साउदी अरेबियामा वैदेशिक रोजगारीमा काम पनि गरेका थिए ।

सन् २००० देखि २००५ सम्म वैदेशिक रोजगारीमा काम गरेका उनी त्यसपछि नेपाल फर्किएका थिए । नेपाल फर्किएर उनले काठमाडौंमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

null

इशान म्यानपावर कम्पनी र अर्को एक म्यानपावर कम्पनी गरी दुईवटा कम्पनी उनले सञ्चालन गर्दै आएका छन् ।

भारतमा गैरकानूनी गतिविधिमा संलग्न भई उनीविरुद्ध क्राइम ब्रान्चमा समेत विभिन्न आपराधिक मुद्दा चलिरहेको उजुरीमा उल्लेख छ ।

null

विभिन्न देशमा हुण्डी कारोबार गरी फरारसमेत रहेकाले उनलाई राजदूत जस्तो प्रतिष्ठित पदमा नियुक्ति गर्दा देशको बदनाम हुने उजुरीकर्ताको तर्क छ ।

'उनी नेपालभित्र र बाहिर विभिन्न अवैधानिक गतिविधिमा संलग्न भएका व्यक्ति हुन् । कुनै कूटनीतिक नियुक्तिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायभित्र निर्दोष, उच्च नैतिक चरित्र र इमान्दारिता भएका व्यक्तिहरू आवश्यक हुन्छन्,' उजुरीमा भनिएको छ,' आपराधिक अभिलेखको उपस्थितिले यी आवश्यक योग्यताहरूलाई कमजोर बनाउने भएकाले यिनको नियुक्तिबाट देशको गरिमा र मान-प्रतिष्ठा नै जोखिममा पर्दछ ।'

 

salt training

कमेन्ट गर्नुहोस्