
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार तत्काल नढल्ने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन् ।
बाहिर चर्चा भएजस्तो कांग्रेस–एमालेको सरकार बनिहाल्ने अवस्था नरहेको ब्रिफिङ प्रचण्डले गरेका हुन् ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा प्रचण्डले सरकार परिवर्तनको हल्ला निराधार भएको दाबी गरेका हुन् ।
‘मिडियामा आएको सत्ता परिवर्तनको चर्चाबारे प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो,’ सरकारको प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले भनिन्, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असमझदारी भयो भनेर बाहिर आएका कुरा असत्य हुन् । गठबन्धन लामै समय जान्छ भनेर ब्रिफिङ गर्नुभयो ।’
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार भएको भेटपछि दुई दलबीच नयाँ समीकरण बनाएर जाने समझदारी भएको कांग्रेस स्रोतहरूले बताएका छन् । तर, प्रचण्डले भने कांग्रेस एमाले मिल्ने सम्भावना नै नरहेको मन्त्रिपरिषद् बैठकमा दाबी गरेका थिए ।
सोमबार बिहान भएको भेटमा अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर जान प्रस्ताव गरेको बाहिर आएको थियो । तर, मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकारको चर्चा नभएको दाबी गरिन् ।
‘कतिपय महत्त्वपूर्ण मुद्दामा राष्ट्रिय सहमति भनिएको हो, अहिले राष्ट्रिय सहमतिको सरकारको कुरा उठेको छैन,’ उनले भनिन् ।
अर्का एक मन्त्रीका अनुसार प्रधानमन्त्री विगतका दिनमा जस्तो 'कन्फिडेन्ट' देखिएका थिएनन् ।
सोमबार नै कांग्रेस बैठकमा सभापति शेरबहादुर देउवाले एमालेसँगको संवाद अत्यन्तै सौहार्दपूर्ण रहेको बताएका थिए ।