
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै सबैलाई सधैंभरि ठग्न नसकिने टिप्पणी गरेका छन् ।
कांग्रेस-एमाले सत्ता सहकार्य गर्ने सहमतिपछि सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया दिँदै उनले सत्ता टिकाउन समीकरण फेरिरहने प्रचण्डप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
'चर्चित भनाइ छ- केहीलाई सधैंभरि ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरि ठग्न सकिन्न । सन्दर्भ बुझौं !' भन्दै उनले लेखेका छन् ।
कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो ।
संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
संसद्मा तेस्रो दलका रूपमा रहेको माओवादीका जम्मा ३२ सिट भए पनि दुई ठूला दललाई प्रयोग गरेर प्रचण्डले सत्ता टिकाइरहेका थिए । सरकार टिकाउन उनले समीकरण फेरेको फेर्यै गरिरहेका थिए ।
२०७९ पुन १० मा तत्कालीन समीकरण फेरेरै उनी प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनले एकपटक कांग्रेस र फेरि एकपटक एमालेसँगै सहकार्य गरेर सत्ता टिकाइरहेका थिए ।