
याङ्गुन–उत्तरी म्यानमारमा बाढीका कारण हजारौँ बासिन्दा घरभित्रै फसेको तथा बिजुली र फोन लाइनहरू काटिएको स्थानीय सञ्चारमध्यमले मङ्गलवार जनाएका छन् ।
राज्य मौसम कार्यालयले थप भारी वर्षाको चेतावनी दिएको छ।
सरकारी सञ्चारमाध्यमले उत्तरी काचिन राज्यको शहर माइटकिनामा केही दिनको भारी वर्षाका कारण अय्यारवाडी नदीमा आएको बाढीले खतरा बढेको बताएको छ ।
माइटकाइनाका एक बासिन्दाले आइतवारदेखि बिजुली र फोन नेटवर्क बन्द भएको बताए । ‘पानीको स्तर तीव्र रुपमा बढिरहेको छ। धेरै बासिन्दा अझै पनि आफ्नो घरभित्र फसेका छन् । शहरमा इन्धनको अभाव छ र उद्धारकर्ताहरूले मोटर डुङ्गाबाट मानिससम्म पुग्न धेरै कठिनाइको सामना गरिरहेका छन्,’ उनले भने ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरहरूमा बाढीका कारण डुबानमा परेका भवन देखिएका छन् ।
जहाँ टाउकोमाथि आफ्ना सामान बोकेर बसेको ठाउँभन्दा अन्यत्रै गइरहेका बासिन्दाहरूको दयनीय अवस्था देखाइएको थियो ।
वर्षाको मौसमभर सामान्यतया दक्षिणपूर्वी एसियाली देशमा महिनौँसम्म भारी पर्ने अनुमान गरिएको छ । तर मानवनिर्मित जलवायु परिवर्तनले मौसमको ढाँचालाई अझ तीव्र बनाएको वैज्ञानिकहरूले बताएका छन् ।