
नेपाली कांग्रेससँग मिलेर पछिल्लो सत्ता समीकरण बनाउन अग्रसर भएको नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग बिच्किनुपरेको कारण प्रष्ट्याएको छ ।
मंगलवार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई २०८४ सम्म लान तयार भए पनि उनकै अस्वाभाविक खेलका कारण कांग्रेससँग मोर्चा कस्नुपरेको स्पष्ट पारेका छन् ।
‘खाली चेक काटे जसरी हामीले प्रचण्डजीलाई समर्थन गरेका थियौं । जनताको निराशालाई चिर्ने र उनीहरूमा आशा जगाउनुपर्ने गरी सरकार बनाउन भूमिका खेल्यौं । प्रचण्डले धेरैवटा गठबन्धन सरकार चलाउनु भयो तर यत्ति रचनात्मक र सहयोगी साझेदार पाउनुभएको थिएन,’ उनले भने, ‘केही निर्णय प्रक्रिया, बजेट र नीति कार्यक्रममा हाम्रा असहमति थिए । सरकारको सबैभन्दा ठूलो आर्किटेक्ट एमाले भए पनि उहाँहरूले बिर्सनुभयो । तर पनि हामीले बजेट पास गर्यौं ।’

असन्तुष्टि रहे पनि सत्ता सहकार्य बदल्ने सोच एमालेमा नभएको तर प्रचण्डको एकाएक राष्ट्रिय सहमतिको सरकार बनाउने अप्रत्याशित निर्णय गरेपछि आफूहरू झस्किएको ज्ञवालीले बताए ।
‘अरु केही विषय थिए, जुन सत्ता सहकार्य नै बदल्ने तहसम्मका थिएनन् । हामी सरकार अगाडि बढाउनुपर्छ भन्नेमा एकोहोरो लागेका थियौं । तर गत हप्तादेखि राष्ट्रिय राजनीतिमा नयाँ तरंग शुरू भयो । बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस शुरू गर्नुभयो । त्यो पनि सत्ता साझेदार दल कसैसँग पनि सल्लाह नगरीकन ! प्रमुख प्रतिपक्षी दलसँग राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्यो तपाईंहरू आउनुस् भन्ने ढंगले जानुभयो,’ उनले भने, ‘त्यो राष्ट्रिय सरकारको आवश्यकता के थियो ? सन्दर्भ र औचित्य के थियो ? आवश्यकता के हो ? त्यसले के काम गर्छ ? बहुमतको सरकार के मानेमा अपर्याप्त भयो र त्यो बाटोमा जानुपर्छ भन्नेमा केही पनि छलफल भएन । सत्ताको मुख्य घटकसँग छलफल नगरी विपक्षीसँग छलफल भयो ।’
यस्तो कुरा विपक्षीबाट थाहा पाएपछि अब प्रचण्डससँग बस्न हुँदैन भन्नेमा आफूहरू पुगेको पनि ज्ञवालीले प्रष्ट्याए ।
‘विपक्षीबाट प्रधानमन्त्रीको कुरा थाहा पाउने स्थिति सिरियस भएपछि हामीले गम्भीर रुपले लियाैँ । उहाँलाई सोध्दा यस्तो नभएको भन्नुभयो । तर पछि सामान्ययीकरण मात्रै गर्नुभयो । यसैले हामीलाई स्वाभाविक प्रश्न खडा गरिदियो,’ उनले थप प्रष्ट्याउँदै भने, ‘गतवर्ष पुस १० मा पनि हामीले प्रधानमन्त्री बनाएको १५ दिनमै हामीलाई किकआउट गर्नुभयो । यसपटक कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन । यही ढंगले हुँदैन, राजनीतिक स्थायित्वमा जान सकिँदैन । बरु तपाईंले नेतृत्व गरेर जाउँ भनेर हाम्रा अध्यक्षलाई भनेपछि यस्तो स्थिति आयो ।’
अब एमालेसमेत सम्मिलित सरकार हुँदैन भनेर प्रधानमन्त्री प्रचण्ड स्वयंले भनेपछि आफूहरूले कांग्रेससँग हात बढाउनुपरेको ज्ञवालीले बताए ।
‘उहाँ आफैंले यो सरकार अब हुँदैन । राष्ट्रिय सहमति गरौं भन्नुभयो । तर कांग्रेस त्यता तयार नभएपछि हामी यता लागेका हौं । हामी फेरि पनि प्रचण्डलाई यता आएर रचनात्मक बन्न आग्रह गर्छौ,’ उनले थपे ।

कांग्रेस र एमालेले संविधानमा कहाँ–कहाँ संशोधन गर्नुपर्ने हो र कसरी राजनीतिक स्थायित्व दिन सक्ने भन्नेबारेमा सोचेर काम गर्ने पनि ज्ञवालीले दाबी गरे । तर अहिले नै तोकेरै संविधानको धारा चलाउने पक्षमा आफूहरू नभएको उनले बताए । आवश्यकताको आधारमा सहमतिमा गर्दै जाने उनको भनाइ छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीति स्थायित्वको लागि कांग्रेस र एमाले मिल्ने स्थिति आएको प्रष्ट्याए ।
‘राजनीतिक स्थायित्व लोकतन्त्रको रक्षा गर्दै जनतालाई डेलिभरी दिनुपर्ने छ । किनकि कर्मकाण्डी तबरले सरकार चलाउने अभ्यासले मात्रै जनतालाई सन्तुष्ट बनाउँदैन,’ सचिवालय बैठकपछि उनले भने, ‘यस्तो अवस्था आइसकेपछि अब सरकार चल्दैन । कर्मचारी संयन्त्रले काम गर्दैन । विश्वासको मत प्राप्त गर्न सकिँदैन । यसैले अन्योलको बाटोमा जानु हुँदैन भनेर भोलि (बुधवार)सम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका हौं ।’
एमालेको बैठकले कांग्रेस र एमालेको बीचमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएकोलाई स्वागत गर्ने निर्णय गरेको छ ।
साथै दुई ठूला दल निर्णयमा पुगेपछि मार्ग प्रशस्त गरेर विवेक प्रयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्रीको राजीनामा नआए मन्त्रीको राजीनामा वा अरु विकल्पमा जाने उनले बताए ।