२२ जेठ २०८३, शुक्रबार

हेटौँडामा  नमूना सडक बनाइँदै

असार १९, २०८१
मकवानपुर
हेटौँडामा  नमूना सडक बनाइँदै

हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत् ती दुवै सडकलाई नमूना सडकको रूपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।

सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा–४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमूना सडकको रूपमा निर्माण गरिने उनले बताइन् । 

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमूना सडकको रूपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताइन् ।  रजत जयन्ती मार्गलाई चार लेनको सडकको रूपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।

सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उनले जानकारी दिए । तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ ।  

नमूना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरूपमा अनुभूति गर्ने र आगामी दिनमा नगरक्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्