
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज साँझसम्म एमाले सरकारबाट बाहिरिने बताएका छन् ।
राष्ट्रिय आवश्यकताले नै दुई ठूला दल मिलेको भन्दै शर्माले आज साँझसम्म एमालेले सरकार छोडेपछि नयाँ सरकार गठनको विषयमा प्रवेश गर्ने बाटो खुल्ने बताए ।
‘एमाले आज साँझसम्म सरकारबाट बाहिरिने अवस्था होला । वा प्रधानमन्त्रीले छोड्नुहोला । नभए विश्वासको मत लिने उहाँको अधिकार हो,’ शर्माले भने, ‘दुई ठूला दल मिल्दा पनि चुनौती हुँदैनन् भन्ने होइन । तर प्रणालीलाई बलियो बनाउन संविधान शंसोधन गर्ने समझदारी दुई दलले गरेका छन् ।’
चार महिनामा सरकार बदलिनु सुखद् नभए पनि जनताले नयाँ समीकरण बन्न खोज्दा आशाले हेरेको उनले बताए ।
‘सरकार चार महिनामा बदलिनु सुखद होइन । तर आम नागरिकमा दई दलले अर्थतन्त्रको प्रभावकारी सामना गरुन । नागरिकको भावना अनुसार काम गरुन भन्ने चाहेका छन्,’ शर्माले भने, ‘सात वटा बुँदामा भएको सहमति कार्यान्वयन गर्ने, संविधान शंसोधनमा दललाई मिलाएर लानुपर्ने आवश्यकता छ ।’