२३ जेठ २०८३, शनिबार
नयाँ सत्ता समीकरण

प्रधानमन्त्रीलाई आज साँझसम्म मात्रै पर्खन्छौं : प्रदीप ज्ञवाली

असार १९, २०८१
काठमाडौं
प्रधानमन्त्रीलाई आज साँझसम्म मात्रै पर्खन्छौं : प्रदीप ज्ञवाली

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आज (बुधबार) साँझसम्म मात्रै पर्खिने भएको छ ।

कांग्रेससँग सत्ता समीकरणको सहमति भएपछि सचिवालयको बुधबारसम्म राजीनामा गर्न आग्रह गरेको थियो । तर आज साँझसम्म प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए अर्को विकल्पमा लाग्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘कांग्रेस र एमाले मिलेर सरकार बनाउने समझदारी गरेपछि हामीले सचिवालयको बैठकबाट मंगलबार बुधबारसम्म मार्ग प्रशस्त गर्न आग्रह गरेका थियौं । हामी उहाँलाई आज साँझसम्म पर्खिन्छौं ज्ञवालीले लोकान्तरसँग भने, ‘अन्योललाई लामो समयसम्म राख्नु हुन्न भन्नेमा छौं । त्यसपछि हामी अर्को विकल्पमा लाग्नेछौं ।’

त्यो अर्को विकल्प भनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत उनले गरे ।

प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो ठूलो दल एमालेका ७७ जना सांसदले समर्थन गरेका छन् । एमालेले समर्थन फिर्ता लिँदा प्रचण्डले बहुमत गुमाउनेछन् । अर्कोतिर कांग्रेस र एमाले मिल्ने समझदारी भएपछि प्रधानमन्त्रीले विश्वासको मत फेस नगरी राजीनामा दिने बुझाइ दलहरूको छ । 

तर आफू अपर्झट हट्नुपरेपछि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया संविधानको धारा ७६(२) अनुसार नभई ७६(३) अनुसार हुने कानून प्रावधान प्रचण्डले हेरिरहेको पनि बताइन्छ ।

किनकि यस्तो भए सहमतिअनुसार एमाले अध्यक्ष केपी होइन ठूलो दलको रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।​

तर कांग्रेसले समझदारी गरेको, राष्ट्रपतिलाई दुवै दलले आग्रह गरिसकेको, दुई वा दुई दलको समर्थनमा प्रधानमन्त्री बन्ने विकल्प नसकिएकाले कांग्रेस र एमाले मिलेर सरकार बनाउने समझदारी हुँदा प्रधानमन्त्रीले विश्वासको मतको प्रक्रिया अगाडि बढाए पनि बहुमत पाउने स्थिति हुने छैन । ​

यसैबीच नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पनि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरिसकेको छ ।

बुधबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्