२७ असार २०८३, शनिबार
मनसुनी वायुको प्रभाव

देशका धेरै ठाउँमा रातिदेखि निरन्तर झरी, नदी र खोलामा बाढीको जोखिम

असार २२, २०८१
काठमाडौं
देशका धेरै ठाउँमा रातिदेखि निरन्तर झरी, नदी र खोलामा बाढीको जोखिम

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातभर झरी परेको छ । अहिले पनि देशभरका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा काठमाडौं उपत्यकामा पनि निरन्तर पानी परिरहेको छ । 

राति काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ ।  

पछिल्लो ३ घण्टामा अर्घाखाचीँको  सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा बर्षामापन केन्द्रमा  भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । यस्तै, पाल्पाका विभिन्न ठाउँमा ठूलो पानी परेको छ ।

यी क्षेत्र भई बहने साना खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिनभर देशभर मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

salt training

कमेन्ट गर्नुहोस्