
सरकारले धानको समर्थन मूल्यमा वृद्धि गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले मध्यम धानको समर्थन मूल्य तीन हजार ५८० रुपियाँ ६२ पैसा र मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४१० रुपियाँ ५१ पैसा प्रतिक्विन्टल तोकेको छ ।
गत वर्षभन्दा यस पटक मध्यम धानको प्रतिक्विन्टलमा २१८ रुपियाँ ६२ पैसा र मोटा धानको २१२ रुपियाँ ५१ पैसाले वृद्धि भएको छ । विगत पाँच वर्षदेखि धानको मूल्य लगातार वृद्धि हुँदै आइरहेको छ । सरकारले आर्थिक वर्ष २०७६÷७७ मा माध्यम धानको मूल्य दुई हजार ६७३ रुपियाँ १६ पैसा र मोटा धानको दुई हजार ५३० रुपियाँ तोकिएको थियो । आव २०७७÷७८ मा माध्यम धानको मूल्य दुई हजार ८८५ रुपियाँ र मोटा धानको दुई हजार ७३५ रुपियाँ तोकिएको थियो ।
त्यस्तै आव २०७८÷७९ मा माध्यम धानको मूल्य दुई हजार ९०९ रुपियाँ र मोटा धानको दुई हजार ७५२ रुपियाँ तोकिएको थियो । आव २०७९÷८० मा माध्यम धानको मूल्य तीन हजार १२८ रुपियाँ र मोटा धानको दुई हजार ९६७ रुपियाँ तोकिएको थियो भने २०८०÷८१ मा माध्यम धानको मूल्य तीन हजार ३६२ रुपियाँ र मोटा धानको तीन हजार १९८ रुपियाँ तोकिएको थियो ।
कृषिमा बढेको लागत, किसान तथा सरोकारवालाको सुझाव र बजार मूल्यवृद्धिलाई आधार मानेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिस अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्दै आएको छ । सरकारले समर्थन मूल्य तोक्दा किसानले लागत अनुसार मूल्य कम भएको गुनासो गर्दै आएका थिए ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले न्यूनतम समर्थन मूल्य भनेर तोक्छ तर व्यापारीले सो मूल्यमा किसानसँग घटाएर खरिद गर्ने गरेको बताए । गोरखापत्रमा खबर छ ।