
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रमुख सत्ता सहयोगी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।
प्रतिनिधिसभामा ७७ सीट रहेको एमालेले समर्थन फिर्ता लिएको र ठूलो दल नेपाली कांग्रेसले पनि एमालेसँगै गठबन्धनको सहमति गरेकाले प्रचण्डले विश्वासको मत पाउने स्थिति भने देखिन्न ।
तर, पनि उनले विश्वासको मतको प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् । गत सोमबार राति कांग्रेस र एमालेबीच नयाँ समीकरणको सहमति भएको थियो ।
आफूहरूबीच सहमति भएपछि दुवै दलले पार्टीबाट औपचारिक निर्णय गर्दै मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै आएका छन् । तर, सहमति सार्वजनिक नभएकाले संसद् फेस गरेर जाने मुडमा प्रचण्ड देखिएका हुन् ।
यति मात्रै होइन, केहीले विश्वासको मतको प्रक्रियामा गए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठन हुन सक्ने कानूनी व्याख्या रहेको दाबी समेत गर्दै आएका छन् ।
यसैबीच बालुवाटार छाड्ने निश्चित भएसँगै प्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निजी निवास सरसफाइ थालिएको छ । केही दिनयता निवास सरफाइसहितको आवश्यक व्यवस्था मिलाउने क्रम चलिरहेको प्रधानमन्त्री स्रोतले बतायो ।
००००
नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ ।
यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौं दिन आज महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ जनाको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरे ।
ललितपुरको च्याँसलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताए । उनले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पारे ।
००००
नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र योगदान रहने बताएका छन् ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन समापन समारोहमा अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए । पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको उनको भनाइ थियो ।
००००
नेकपा एकीकृत समाजवादीले सैद्धान्तिक आधारबिना सत्तास्वार्थका लागि जोसँग जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर समीकरण बनाइएको भन्दै यसलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ ।
महाधिवेशनबाट शुक्रवार पारित १९ बुँदे प्रस्तावमा एकीकृत समाजवादीले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनलाई घुमाउरो पारामा दक्षिणपन्थी अवसरवाद भनेको हो । प्रस्तावमा उसले दुई दलको नाम भने लिएको छैन ।
००००
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले खेलाडी सन्ँदीप लामिछानेलाई एक ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको छ ।
लामिछानेले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा बधाई दिँदै क्यानले केन्द्रीय समितिको बैठकबाट शुत्रलबार जुलाइ १ देखि डिसेम्बर ३१ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको हो ।
००००
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।
शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले राजीनामा बुझाएका हुन् ।
००००
मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।
एमाले मधेश प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए ।
००००
सहकारी संस्था बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी) लगायतसँग छलफल गरेको छ ।
समितिले शुक्रबार गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआईजी श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान विभागका प्रमुख एआईजी टेक तामाङलगायत सम्बद्ध प्रहरी अधिकारीहरूसँग छलफल गरेको हो ।
००००
मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका छन् । साथै एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको जानकारी गराएका हुन् ।