१८ असार २०८३, बिहीबार
कृषि कर्म गरेर मनग्य आम्दानी

तरकारी खेतीबाटै वार्षिक २० लाख कमाउने कोपिन्द्र

असार २२, २०८१
काठमाडौं
तरकारी खेतीबाटै वार्षिक २० लाख कमाउने कोपिन्द्र

मोरङको कटहरी गाउँपालिका–४ का कोपिन्द्र सिंह २०६३ सालमा १२ कक्षा पढ्दै थिए । उनको परिवारको आर्थिक अवस्था सामान्य थियो । बुवाले जोडेको डेढ बिघा जमिन नै घर खर्चको स्रोत थियो । त्यहीँबाट उत्पादन भएको खाद्यान्नले वर्ष दिन खान पुर्‍याउनु पथ्र्याे, वर्षभरिलाई घरखर्च पनि त्यसैले पुर्‍याउने हो ।

जति नै मेहनत गर्दा पनि खासै राम्रो उत्पादन हुँदैनथ्यो । दिनभरि काम गर्दा २५० रुपैयाँ ज्याला पाइन्थ्यो । उनको मन बहकिन थाल्यो । देशमा बसेर केही हुने रहेनछ भन्ने लाग्यो ।

नभन्दै उनले वैदेशिक रोजगारमा मलेसिया जाने योजना बनाए । मलेसिया जान गाउँकै साहुसँग ८० हजार ऋण खोजे । ‘यहाँ केही गर्छु भन्दा कसैले पत्याउँदैनथे । तर विदेश जान भनेपछि जति पनि पैसा ऋण दिन्थे,’ उनले विगत सम्झिए ।

तर विदेश सोचेजस्तो कहाँ हुन्छ र ? कोपिन्द्रले विदेशमा धेरै हन्डर/ठक्कर खाए । घरमा खासै काम नगरेका उनले ४०/४५ डिग्रीको तातो घाममा ढल सफा गर्ने काम पाए । काम मात्रै गाह्रो होइन दाम पनि एकदमै कम थियो । उनको मासिक तलब १५ हजार मात्रै थियो । तलबबाट नै  कोठा भाडा तथा खाना खानुपर्थ्यो । कमाएको पैसा उनले आधा मात्रै बचाउँथे ।

घर फर्कन पनि समस्या थियो  । ऋण नतिरी घर फर्कँदा  जग्गा नै बेच्नु पथ्र्याे । कर्मको फल भनेर काम गरेको उनले बताए । 

तीन वर्ष मलेसियामा बिताए । तीन वर्षमा ३ लाख ९० हजार पैसा कमाएर उनी घर फर्के । घर फर्किँदा परिवेश केही बदलिएको थियो । ‘म फर्केपछि गाउँको परिस्थिति केही फेरिएको थियो । विदेशबाट फर्केकालाई साहु महाजनले पनि ऋण पत्याउन थालेका रहेछन्,’ उनले भने, ‘मैले भाकामै पैसा तिरेकाले होला यसले दुःख गर्न जानेको छ भने ।’ 

अनि उनले आफ्नै माटोमा दुःख गर्ने निधो गरे । आफ्नै माटोलाई उर्वर बनाउने सपना देखे  । उनले दुई बिघाबाट तरकारी खेती शुरू गरे । दुई बिघाबाट शुरू भएको उनको कृषि कर्म अहिले २१ बिघामा फैलिएको छ । २०६९ देखि उनले तरकारी खेत शुरू गरेका थिए । ‘म विदेश नगएको भए साथी भाइसँग डुलेर बुबाले कमाएको सम्पत्तिमै रजाइँ गर्थे होला,’ उनले भने, ‘त्यहाँको दुःखले मलाई आत्मनिर्भर हुने बनाएको छ ।’ 

कोपिन्द्रले तरकारी खेतीबाट गरेको आम्दानीले एउटा गाडी किनेका छन्, पक्की घर पनि बनाएका छन् । अर्काको काम गर्ने उनले अहिले कामदार राखेका छन् । सिजनमा दैनिक २५ जनासम्मलाई ज्यालादारीमा राख्ने गरेको उनले बताए ।  ५ जनालाई भने मासिक तलब नै दिएर राखेका छन् । आठ बिघामा उनले तरकारी खेती गर्छन् भने अन्यमा धान मकै गहुँलगायत बाली उत्पादन गर्ने गर्छन् । 

जग्गा बाझो राखेको मनै पर्दैन
तरकारीबाटै भविष्य खोजिरहेका कोपिन्द्रलाई जग्गा बाझो राखेको मन पर्दैन । जग्गा बाझो राख्नेलाई श्राप लाग्ने उनी तर्क गर्छन् । ‘जग्गा बाझो राखेको देख्दा साह्रै रिस उठ्छ,’ उनी भन्छन्, ‘जसले जग्गा बाझो राख्छ अनि बजारमा गएर किनेर खान्छ । त्यस्ता मान्छेलाई श्राप नै लाग्छ नि होइन ?’ 

उनी जग्गालाई आमासँग तुलना गर्छन् । ‘आमाले हामीलाई यो संसार देखाउनुहुन्छ । जग्गाले पनि हामीलाई उत्पादन दिन्छ र यही संसारमा बाँच्छौं,’ उनी भन्छन्, ‘आमा र जग्गा दुवैलाई हेला गर्नेलाई कहिल्यै सफलता मिल्दैन ।’ 

१ बोटमा २५ किलोसम्म टमाटर फलाएको उनी बताउँछन् । वार्षिक खर्च कटाएर २० लाखसम्म बचत गर्ने गरेको उनले सुनाए । उनले लौका, भण्टा, काउली, आलु टमाटरलगायत तरकारी उत्पादन गर्ने गरेका छन् । तरकारीबाट कहिल्यै घाटा नहुने उनी बताउँछन् । अरूले जे उत्पादन गर्छन् त्यही गर्ने उनको बानी  छैन । अरुले नगरेको उनी बढी गर्छन् । बजारको मागअनुसार खेती गर्छन् । 

मुख्य बालीमा टमाटर उत्पादन गर्ने गर्छन् । उनले उत्पादन गरेको टमाटर विराटनगर, काठमाडौं, भैरहवालगायत बजारमा जाने गरेको छ । 

उनी अरुलाई पनि तरकारी खेती गर्न प्रेरित गर्छन् । विदेश जान लागेका ८ जनालाई आफैंले जग्गा खोजिदिएर तरकारी खेती गर्न लगाएको उनले बताए । सरकारले अनुदानभन्दा पनि भारतबाट आउने तरकारी बन्द गरिदिनुपर्ने उनको भनाइ छ । ‘सरकारले मल बिउ समयमै दिएर भारतबाट आउने तरकारी रोक्नुपर्छ,’ उनले भने, ‘यति गर्‍यो भने नेपालीको उत्पादनले राम्रो बजार पाउँछ ।’ नेपाल कै केही व्यापारी बिचौलिया भएका कारणले भारतबाट तरकारी भित्रिने गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्