
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासँगै देशका २५ जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोले जनजीवन कष्टकर बनेको छ ।
पहिरोका कारण मुख्य राजमागसहित २५ वटा सडक खण्डमा पूर्ण अवरोध सिर्जना भएको थियो । बाढी र पहिरोले काठमाडौंकोसहित ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी मुख्यालयका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित सिंगल ट्रिमा १, स्याङ्जामा ३, पर्वतमा २ जना गरी ६ जनाको मृत्यु भएको हो ।
मुख्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार दाङमा खोलाले बगाएर एक, तनहुँमा पहिरोले २ र दोलखामा खोलाले बगाएर ३ जना गरी ६ जना बेपत्ता भएका छन्।
त्यस्तै तनहुँमा ४, गुल्मीमा एक र ओखलढुङ्गामा दुई जना गरी ७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार पहिरो खस्दा कान्ति लोकपथ सडक, चित्लाङ मकवानपुर सडक सङ्खुवासभामा पर्ने दक्षिण कोशी राजमार्ग, कोशी राजमार्ग, उदयपुरको सिद्धिचरण राजमार्ग, रसुवाको स्याफ्रुवेशी थाम्बुचेत सडक खण्ड, सिन्धुलीको सुनकोशीमा पर्ने बीपी राजमार्ग, नुवाकोटको पासाङल्हामु राजमार्ग, काभ्रेको बीपी राजमार्ग, अरनिको राजमार्ग लगायत २५ वटा सडक खण्डमा अवरोध पुर्याएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं र स्याङ्जामा गरि ३ जनाको मृत्यु भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठामा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज विक घाइते भई मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको मन्त्रालयले जनाएको छ ।
पहिरोमा परी बिरुवाकै माझकोटकी ६५ वर्षीया गुह्वेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो प्रहरी प्रधान कार्यालयले जनाएको छ । माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । उनको खोजी भइरहेको प्रवक्ता डीआईजी कार्कीले बताए ।
त्यस्तै पर्वतमा पहिरोले २ जना पुरिएका छन् । फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन् । स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ । भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएको मुख्यालयले जनाएको छ।
उता दोलखाको गौरीशंकर गाउँपालिका ९ मा बाढीले ६३ वर्षीया जाङमु शेर्पालाई बेपत्ता बनाएको छ ।
प्रहरीका अनुसार गौरीशंकर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता भएकी भएकी हुन् । उक्त स्थानमा बाढीले ३ वटा घर समेत बगाएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा नदीले बगाई बेपत्ता पारेको जानकारी प्रवक्ता डीआईजी कार्कीले दिए । त्यस्तै गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ मा पहिरोले घर पुर्दा ४५ वर्षीया रुपा टमटा घाइते भएकी छिन्।
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीबाट मध्यपुर ठिमी दिव्यश्वरी प्लानिङमा १८ वटा टहरामा बस्ने ५६ जना मानिसहरूलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
पाल्पाको रामपुर वडा नम्बर ९ मा पहिरो जाँदा कमल बहादुर साठीघरेको कच्ची गोठमा पहिरो झरेर पशु चौपायासँगै गोठ पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ । यस्तै गण्डकी प्रदेशमा पर्ने पोखराको सेती नदीको किनारमा बसोबास गर्ने ५ घर धुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको डीएसपी थापाले बताए ।
यता काठमाडौंका बागमती नदी, मनोहरा नदी, भक्तपुरको हनुमन्ते खोला लगायतका किनाराका बस्तीमा बाढी पस्दा जनजीवन अस्तव्यस्त बनेको छ।
मन्त्रालयका अनुसार नेपालमा गत जेठ २८ गतेबाट मनसुन शुरू भएको हो । मनसुन सक्रिय भएयता हालसम्म ५२ जनाको मृत्यु, ७ जना बेपत्ता र ७४ घाइते भएका छन्।

बाढी, पहिरोमा फसेकाको उद्धार गर्न सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । दिनभरजसो उद्धारमा सुरक्षा निकायको टोली बाढी र पहिरो स्थलमा खटिएको डीआईजी कार्कीले जानकारी दिए ।
गृह सचिव एकनारायण अर्यालले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा घटनास्थलमा प्रहरीसँगै अन्य सुरक्षाकर्मी खटिएका जानकारी दिए ।
पहिला उद्धार सँगै राहत व्यवस्थापनका लागि समेत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उनले अलर्ट गराएका छन् ।
बन्द राजमार्गको अवरोध खुलाउने प्रयास भइरहेको छ । बाढी पहिरोको जोखिम अबको केही दिनमा अझै बढ्ने भएकाले सर्वसाधारणलाई सचेत रहन पनि उनले आग्रह गरेका छन्।