सिन्धुपाल्चोक, ७ कात्तिक- मनोनयन दर्तासँगै जिल्लामा वयोवृद्ध तथा पञ्चायत पृष्ठभूमीका राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशमशेर राणा र एमाले–माओवादी केन्द्र गठबन्धनका युवा उम्मेदवार शेरबहादुर तामाङबीच हुने रोचक भिडन्तबारे जिल्लामा अडकलबाजी सुरु भएका छन् ।

राजधानी दैनिक लेख्छ- १० मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दर्ता गराएका राणाले यसअघिका दुईवटै संविधानसभा निर्वाचनको हारको बदला लिने रणनीतिसहित उम्मेदवारी दिँदै गर्दा उनलाई सत्तासीन दल कांग्रेसको भर छ ।
२०४८ सालको आमनिर्वाचन, २०५१ सालको मध्यावधि र २०५६ सालको आमनिर्वाचनमा राप्रपाकै तर्फबाट जितेका राणा गणतन्त्र स्थापनापछिका दुई निर्वाचनमा पराजित भए । यो क्षेत्रमा उनको छैटौंपटक जनपरीक्षा हुँदै छ ।
पहिलो संविधानसभा निर्वाचनमा उनलाई हराएका माओवादीका दावा तामाङ उनकै क्षेत्रमा प्रदेशसभामा प्रतिस्पर्धामा रहे पनि दोस्रो संविधानसभा निर्वाचनमा उनलाई पराजित गरेका तामाङसँगै उनको भेट हुँदै छ । छैटौंपटक सोही क्षेत्रबाट निर्वाचन प्रतिस्पर्धामा उत्रँदै गर्दा राणालाई स्थानीय तहको मत हिसाब गर्ने हो भने जित्न सहज छैन ।
तर लामो समय सो क्षेत्रमा विकासको नेतृत्व गरेका राणासँग पछिल्ला दुईवटा निर्वाचनबाट जितेका उम्मेदवारले आशातित विकास गर्न नसकेको जस भने छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतमध्ये एमाले एक्लैको २५ हजार ७ सय ९० मत छ भने माओवादी केन्द्रको १४ हजार १ सय ८ मत छ । दुवैको जोड्दा ३९ हजार ८ सय ९८ मत पुग्छ ।
राणालाई सघाएको कांग्रेसको २० हजार २ सय २४ मत छ भने राप्रपाको ८ हजार ३ सय ४४ मत छ । दुवैको गरी कुल २८ हजार ५ सय ६८ मत मात्रै रहेको छ । यो परिणामलाई विश्लेषण गर्ने हो भने राणालाई जित हासिल गर्न गाह्रो हुने देखिन्छ ।
राणालाई हराउँदा सिन्धुपाल्चोकमा आमूल परिवर्तन हुन्छ भन्ने सपना बाँडेका दुई कम्युनिस्ट उम्मेदवारहरूले पनि खासै केही परिवर्तन गर्न नसकेको यस क्षेत्रका मतदाताको आरोप छ ।
दोस्रो संविधानसभा निर्वाचनमा फराकिलो मतान्तरले तामाङसँग पराजित भएका राणा सम्भवतः यो अन्तिमपटक सिन्धुपाल्चोकबाट चुनावी प्रतिस्पर्धा गर्ने उनी निकटका राप्रपाका नेताहरूले जानकारी दिएका छन् । ‘उमेरका हिसाबले पनि अबका चुनाव ‘बाबुसाहेब’ले फेस गर्न सक्नु हुन्न, यो अब उहाँको अन्तिम चुनावी प्रतिस्पर्धा हो,’ राणानिकट राप्रपा प्रजातान्त्रिकका एक नेताले भने ।