२३ असार २०८३, मंगलबार

बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र

असार २७, २०८१
काठमाडौं
बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र

बचतकर्ताको रकम घोटाला प्रकरणमा परेको खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ ।

सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति (प्रतिवादी)बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो ।

सञ्चालक समितिले बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ जनालाई अदालतमा बचत रकम फिर्ता दिएको अदालतका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिए ।

ठगी प्रकरणमा मुद्दा विचाराधीन रहेको अवस्थामा सञ्चालक समितिले बचतकर्ताको बचत रकम फिर्ता दिएपछि मिलापत्र गराइएको उनले बताए ।​

बचतकर्ता दुई सय ६५ जनाले दिएको जाहेरीमा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएका थिए ।

सञ्चालक समितिले ऋणीबाट रकम उठाएर बचतकर्तालाई फिर्ता दिएको कानूनी सहजकर्ता ओमप्रकाश घिमिरेले बताए ।

ऋणीबाट रकम उठाएर बचतकर्तालाई फिर्ता दिनुका साथै अदालतमा विचाराधीन मुद्दामा मिलापत्र गरिएको सहकारीका सहजकर्ता गोपाल सैंजूले बताए ।

'अदालतमा विचाराधीन मुद्दाको फैसला हुनु पहिला नै पीडितलाई न्याय दिएका हौं,' उनले भने, 'मध्यमार्गी भूमिका निर्वाह गरी न्याय दिएका छौं । यो कार्यले मुलुकमा एउटा नजिर स्थापना गर्छ भन्ने अपेक्षा लिएका छौं ।'

'घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न रु ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ । सञ्चालक समितिको लापरबाहीले बचत रकम डुब्ने अवस्थामा पुगेको थियो । अहिले फिर्ता पाएका छौं,' दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का बचतकर्ता लेखनाथ आचार्यले भने, 'सञ्चालक समितिको यो भूमिकाप्रति आभारी छौं ।'

salt training

कमेन्ट गर्नुहोस्