
मनिला–उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठोक्किँदा एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।
कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो ।
प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ । उनीहरू घर फकिँदै गरेका थिए ।
‘पिकअपमा सवार रहेकामध्ये तीनजना मात्रै जीवित छन्,’ प्रहरी मेजर एन्टोनियो पालाटाओले भने । यात्रुबाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए ।
‘टोयोटा हिलक्सका चालक त्यस क्षेत्रबारे जानकार नभएकाले उनले राजमार्ग पुगिसकेको थाहा पाएनन् । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ,’ प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भने ।